भोटेसेलाङको सेपिलो जमिन बाँसखर्क जहाँ पहिरोपीडित लिदीवासी ६ महिनादेखि आफ्नो थातथलो छोडेर सरकारी सहयोगको प्रतीक्षामा बसिरहेका छन् ।
उनीहरूका लागि स्थायी बस्तीको व्यवस्थापन त परको कुरा भयो, छिमेकी देश चीनले दिएको सहयोग पनि गाउँपालिकामा स्टोर गरेर राखिएको छ ।
लेकाली भेगमा मंसिर अन्तिमदेखि नै हिउँ र तुषारो पर्न थाल्छ । पुस महिना पूरै जाडोले कठ्यांग्रिएर बिताएका लिदीवासीलाई रुघाखोकीले सताएको छ ।
मित्रराष्ट्र चीनले सभामुख अग्निप्रसाद सापकोटामार्फत ३ पुसमा बाढीपहिरोपीडितका लागि टेन्ट र ओढ्ने कपडा दिएको थियो । चीनले दिएको सहयोग बर्खामा प्राकृतिक विपत्तिले सताएको चार स्थानीय तह भोटेकोसी, बाह्रबिसे, जुगल र चौतारा साँगाचोकगढीलाई प्रदान गरिएको थियो ।
जुगल गाउँपालिकालाई ८० थान बाक्लो टेन्ट र ७० थान ओढ्ने न्यानो कपडा पठाइएको थियो ।
टेन्ट बाक्लो र विशेष खालको भएकोले पुस–माघको तुषारोमा पनि बस्न सहज हुन्छ । जाडोले थर्थरी कामेर पीडित स्थानीय बिरामी पर्दासमेत टेन्ट र ओढ्ने आजसम्म बाँसखर्क पुगेको छैन ।
‘जाडोले बिरामी पर्दा कसैले हेरेनन्,’ पीडित साहिला दोङले भने । चीन सरकारले दिएको सहयोग नपाएको उनले सुनाए ।
जिल्ला प्रशासन कार्यालयले ६ महिनाअघि दिएको पुरानो टेन्टमा पीडितको दिनरात जाग्राम बसेर बितिरहेको छ । पुरानो चिनियाँ टेन्ट भूकम्पको वेला प्राप्त भएका थिए ।
गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ ओली नेकपाको केन्द्रीय सदस्यसमेत हुन् । पार्टी विभाजनपछि राजनीतिक कार्यक्रममा व्यस्त हुने गरेकोले उक्त सहयोग पीडितसम्म नपुगेको स्थानीय बताउँछन् ।
अन्य तीन स्थानीय तहले अत्यावश्यक पीडितलाई वितरण गरेर बाँकी सामग्री आपतकालीन समयका लागि भन्दै स्टोर गरिएको जनाएका छन् ।
पालिका अध्यक्षलाई कुरा गर्दा जवाफ दिन मानेनन् ।