
हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै सांघातिक आक्रमण भएको छ । बुधबार अपराह्न ४ बजेतिर चाइना क्वाटरस्थित वडा कार्यालयमा ३–४ जनाको समूहमा आएका अपरिचित व्यक्तिले अध्यक्ष न्यौपानेमाथि कुटपिट गर्नुका सार्थ मोबिल छ्यापेर फरार भएका हुन् ।
नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा आएका ती व्यत्तिहरुले अध्यक्ष न्यौपानेको टाउको, शरीर र कपडामा कालो मोबिल छ्यापेका थिए । साथै, उनीमाथि कुपिट समेत भएको छ । कुटपिटबाट अध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको छ । वडाध्यक्ष न्यौपानले कार्यकक्षमा बसिरहेको समयमा काम लिएर आएको बाहानामा तीन मानिसले आक्रमण गरेको जानकारी दिए ।
‘म कार्यकक्षमा बसिरहेको थिए । केहि व्यक्ति भूमिहिन सुकुम्बासीको समस्या लिएर आएको भन्दै कार्यकक्षमा छिरे । उनीहरूले मलाई एउटा फाइल दिए । म उक्त फाइल हेर्दे थिए, एक्कासी म माथि मोबिल प्रहार भयो,’ उनले भने, ‘मोबिल प्रहारबाट बच्न खोज्दा उनीहरूले अनुहार र टाउकोमा मुक्का प्रहार गरे । चिच्याएपछि भागे ।’
कुटपिट र मोबिल प्रहारको कारण भूमिहीन सुकुमबासी व्यवस्थापनसम्बन्धी विवाद हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा ‘भूमिहीन सुकुमबासी’ शीर्षक लेखिएको खाली रेकर्ड फाइलसमेत फेला परेको छ । उपमहानगरपालिकाले केही समयदेखि हेटौँडा अस्पतालपछाडि स्वर्गलोक क्षेत्रमा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएका अवैध टहरा हटाउन अभियान सञ्चालन गर्दै आएको थियो ।
सोही विषयलाई लिएर असन्तुष्ट भएकाहरूले वडाध्यक्ष न्यौपानेमाथि आक्रमण गरेको हुन सक्ने अनुमान छ । केही समयअघि उपमहानगरपालिकाको कार्यपालिका बैठकले स्थानीय तह सञ्चालन ऐन ०७४, मुलुकी देवानीसंहिता २०७४ लगायतका कानुनको पालना गर्दै उपमहानगरपालिका भित्रका सार्वजनिक जग्गाको संरक्षणका लागि काम अगाडि बढाएको जानकारी गराएको थियो ।
यसैबिच हेटौँडा उपमहानगरपालिकामा आकस्मिक बसेको कार्यपालिका बैठकले वडाध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न माग गरेको छ । बैठकले गैरराजनीतिक उदेश्य बोकेका व्यक्तिहरुले वडाध्यक्ष न्यौपानेको ज्यान लिने उद्देश्यले आक्रमण गरेको ठहर गर्दै आक्रमणमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न माग गरिएको छ ।
मेयर मिना लामाले वडा अध्यक्ष न्यौपानेमाथिको आक्रमण गैरराजनीति घटना भएको बताएकी छन् । उनले भूमिहिन सुकुम्बासीको समस्यासँग सम्बन्धित विषय भए विभिन्न तरिकाबाट समस्या समाधानका उपाए हुँदाहुँदै ज्यानै मार्ने किसिमले आक्रमण भएकाले दोषीलाई हदैसम्मको कारवाही हुनपर्ने बताइन् ।
यस्तै वडा अध्यक्ष न्यौपाने आवद्ध पार्टी कांग्रेस मकवानपुरले पनि विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेको छ । कांग्रेस मकवानपुरले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाहीको माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको जनकारी पाउनासाथ अनुसन्धान थालेको जनाएको छ । घटनापछि फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ ।
मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले घटनास्थलको सिसिटिभी फुटेज संकलन गरी विश्लेषण गर्ने कार्य भइरहेको र घटनामा संलग्नहरुले अध्यक्ष न्यौपानेको दुईवटा मोबाइल समेत लगेको र सोही मोबाइलको आधारमा लोकेशन ट्रयाक गरी खोजी कार्य अगाडि बढाइएको जानकारी दिए ।