१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २६ सोमबार १८:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरका तत्कालीन इन्जिनियरको साढे चार करोड अवैध सम्पत्ति !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार १८:५१:oo

काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सार्वजनिक सेवाको पदमा रहँदा कोइरीले आफ्नो पदीय हैसियत दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ (साबिक नकटाझिज–६) स्थायी घर भई काठमाडौं महानगरपालिका– ४, चन्डोल बस्ने कोइरीले २०४६ वैशाख १९ देखि सार्वजनिक पद धारण गरेका थिए। २०७८ फागुन ३० गतेसम्मको सेवा अवधिमा उनले चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ अवैध रूपमा कमाएको अख्तियारको दाबी छ।

उनीमाथि सोहीबराबर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगोअनुसार कैद र बिगोबमोजिम जरिवानाका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गरिएको छ।

साथै, कोइरीले सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइछिपाई झुट्टा विवरण पेस गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाइछिपाई राखिएको सम्पत्ति जफत गर्नसमेत मागदाबी गरेको छ।

कोइरीले गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती मालाकुमारी महतोको नाममा जग्गा र सेयर खरिद तथा घर निर्माण गरी बैंक मौज्दात राखेको अख्तियारले जनाएको छ। अख्तियारले जफत गर्ने प्रयोजनका लागि मालाकुमारीलाई समेत प्रतिवादी बनाएको छ।