१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ३ शनिबार १२:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार १२:१९:oo

सरोकारवालाहरुले दिगो विद्युत् उत्पादनलाई स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिएका छन्। शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पाँचौँ समानान्तर सत्रअन्तर्गत ‘भविष्यको ऊर्जाः स्वच्छ ऊर्जाको सदुपयोग’ विषयमा बोल्दै उनीहरुले ऊर्जा उत्पादन बढाएर निर्यात प्रवर्द्धनका लागि स्वच्छ ऊर्जाको सदुपयोग बढाउन आवश्यक रहेको बताएका हुन् । 

सत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जलवायुजन्य चुनौतीका कारण पानीको स्रोत घट्ने र जलविद्युत् उत्पादनमासमेत असर पुग्ने बताए। ‘जाडो याममा पानीको स्रोत घट्दा नै नेपालले ऊर्जा भारतबाट आयात गरेर विद्युत् आपूर्ति गराएका छौँ’, उनले भने, ‘अर्को समस्या भनेको प्रसारण लाइन जडानकै क्रममा धेरैजसो स्थानीय प्रतिरोधको सामना गर्नुपरेको छ, सर्वसाधारणहरु प्रसारण लाइन चाहन्छन्, तर आफ्नै घर अगाडि र पछाडि होइन, अब त्यसलाई कसरी प्रवर्द्धन गर्ने ?’

शाक्यले उद्योगहरूलाई विद्युतीकरण गर्नका लागि भरपर्दो ऊर्जा आवश्यक रहेको बताए। नेपालको प्रसारण प्रणाली निकै कमजोर रहेको भन्दै उनले भने, ‘हिजो साँझ मात्रै धेरैपटक लाइन काटियो, किनभने हाम्रो प्रसारण प्रणाली निकै कमजोर छ, एउटा लिंक बिग्रिएपछि सिंगो प्रणाली नै बन्द हुन्छ ।’

अहिले प्रसारण सञ्जालमा निजी क्षेत्रको सहभागिता पनि खोजिएका र यसका लागि नियामक संरचना आवश्यक पर्ने उनको भनाइ छ । ‘निजी क्षेत्रलाई कसरी समावेश गर्ने भन्ने विषय महत्वपूर्ण छ, नेपाल विद्युत् प्राधिकरणसँग पर्याप्त वित्तीय स्रोत छैन, त्यसैले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ’, शाक्यले भने ।