
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा समिति गठन गरेको छ ।
हाल कार्यान्वयनमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड, २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० लाई परिमार्जन गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
समितिमा मन्त्रालयका एघारौँ तहका सहसचिव डा. अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुइतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानुन उपसचिव गोपीकृष्ण रेग्मीलगायत छन् ।
हालको मापदण्डले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्युक्लियर मेडिसिनलगायत स्वास्थ्य संस्थाको मापदण्ड नसमेटेकाले त्यसलाई थप्ने तयारी मन्त्रालयको छ ।
मन्त्रालयले स्वास्थ्य संस्थाको सेवा सुधार तथा प्रभावकारिता ल्याउन तयार पारेका सबै विषयलाई समेटेर मापदण्ड परिमार्जन गर्ने गरी तयारी अघि बढेको जनाइएको छ ।
कोरोना महामारीपछिको परिवर्तित अवस्थामा स्वास्थ्य सेवा प्रभवकारी बनाउनसमेत अहिलेको मापदण्ड परिमार्जन जरुरी रहेकाले मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।