
एक वर्षअघि बाढीले भत्काएको कञ्चनपुर झर्नाखोलाकोे पुल अझै पुनर्निर्माण भएको छैन । गत वर्ष ०८१ असार तेस्रो साता झर्नाखोलामा आएको बाढीले भत्काएको पुल अहिलेसम्म पुनर्निर्माण नभएको हो। बाढीले बेलडाँडी गाउँपालिका– १, हुलाकी राजमार्ग हुँदै सरस्वती माध्यमिक विद्यालय झर्नासागर टोल जोड्ने पुल भत्किएको थियो । स्थानीय, प्रदेश र संघीय गरेर देशमा तीन सरकार छन् । तर, यो बाढीले भत्काएको पुल बनाउन कोही अग्रसर भएका छैनन्।
पुल भत्किएपछि ठुला सवारीसाधन सञ्चालनमा आउन नसके पनि भत्किएकै पुलमा जोखिम मोलेर पैदल र साना सवारीसाधन साइकल, मोटरसाइकलसम्म आउजाउ गर्न बाध्य भएका छन् । बयलगाडा, अटो, जिपकार, ट्याक्टर, ट्रकसहितका ठुला सवारीसाधन सञ्चालन हुन नसक्दा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ। पुल भत्किएपछि स्थानीयदेखि विद्यार्थीलाई विद्यालय आउन–जान सास्ती खेप्नुपरेको छ।
स्थानीयले पटकपटक वडा, पालिका, प्रदेश र संघीय जनप्रतिनिधिसँग झर्नाखोला पुल भत्किएको विषयमा जानकारीदेखि नयाँ पुल निर्माणका लागि माग अघि सारे पनि कुनै पहल नहुँदा जनता हैरान भएका छन्। स्थानीय सुरेन्द्र देउवाले पुल भत्किएपछि मानिसको दैनिक जनजीवनमा आउने कामकाजका लागि यात्रा गर्न कठिन भएको बताए।