
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कमान्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरूलाई तत्काल परिणाममुखी काम गर्न नसके जुनसुकै वेला कमान्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन्। सोमबार मुख्यालयमा निर्देशन दिँदै उनले भने, ‘सशस्त्र प्रहरीको बर्दी चम्काउने कि यसलाई धुमिल पार्ने भन्ने जिम्मा तपाईंहरूको हातमा छ, त्यसैले संवेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् ।’
देशको सार्वभौमसत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजस्व संकलनका लागि २४ घण्टा सक्रिय रहन निर्देशन दिँदै महानिरीक्षक अर्यालले मेरो संगठन भनेर काम गर्न, लोभलालचमा नफस्न र संगठनको नीति–नियम अनुसार काम गर्न निर्देशन दिएका छन्। ‘देश र समाजका लागि गौरव गर्न लायक काम गर्न सक्नुभएन भने र व्यक्तिगत लोभलालचमा फस्नुभयो भने तपाईंलाई कुनै शक्तिले पनि बचाउन सक्दैन, त्यसको हेक्का राख्नुहोला,’ उनले भने । उच्च मनोबलका साथ देखिने गरी र महसुस हुने गरी कार्य गर्न तथा आफूले गरेका कार्य प्रगति प्रत्येक महिना मुख्यालय पठाउन उनले निर्देशन दिएका छन् ।
मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरूलाई कारबाही गर्ने चेतावनी दिँदै महानिरीक्षक अर्यालले बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालयहरूको प्रत्येक तीन–तीन महिनामा कमान्डको पुनरावलोकन तथा पुनर्मूल्यांकन गरिने र त्यसमा कमजोर देखिए कमान्ड हेरफेर तथा फिर्तासम्म गरिने बताउँदै महानिरीक्षक अर्यालले समुदायलक्षित विपत् स्वयंसेवक तालिम अझ प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न नयाँ कल्याणकारी योजना ल्याउन र पुराना कल्याणकारी कार्यलाई निरन्तरता दिन तथा एक महिनाभित्र सबै कमान्डरले आफ्नो कार्ययोजना मुख्यालयमा पठाउनसमेत निर्देशन दिएका छन्।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अझ प्रभावकारी बनाउँदै लैजान तथा समुदायमा विपत् रोकथामका लागि सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै कार्य गर्न जोड दिँदै महानिरीक्षक अर्यालले बर्दीको साख जोगाउन तथा संगठनलाई कुनै पनि तरिकाबाट दाग लगाउने कार्य सैह्य नहुने बताए। राजस्व चुहावट नियन्त्रणमा निर्मम बन्न उनले जोड दिएका छन्।
राजस्व चुहावट नियन्त्रणमा आफूले आमूल परिवर्तन चाहेको बताउँदै उनले आन्तरिक व्यवस्थापनमा समेत उत्तिकै जोड दिनु तालिमको गुणस्तर सुधार्न र प्रत्येक युनिटमा विपत् उद्धारका आधारभूत सामग्री तयारी हालतमा राख्नसमेत निर्देशन दिए। भावी पुस्ताले समेत गर्व गर्नलायक संगठन बनाउन प्रत्येक कमान्डर उत्तिकै जिम्मेवार हुनुपर्ने बताउँदै महानिरीक्षक अर्यालले चेतावनी दिँदै भने, ‘तपाईंको नराम्रा कुरा फिल्डमा देख्न नपरोस् ।’ बेस्ट अफिसर इन राइट प्लेसको अवधारणाअनुरूप सबै युनिटमा कमान्डका जिम्मेवारी दिएको बताउँदै उनले संगठनबाट लिने मात्रै होइन, आफूले पनि संगठनका लागि के दिन सक्छु भन्ने भावनाका काम गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा हालै सरुवा भएका कमान्डमा जान लागेका प्रदेशस्थित सशस्त्र प्रहरी बल बाहिनी मुख्यालयका बाहिनीपतिहरू, शिक्षालयका समादेशकहरूको उपस्थिति रहेको थियो ।