
ललितपुर महानगरपालिकाले आजदेखि विद्यालय खोली शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
आन्दोलनरत शिक्षक र सरकारका नाममा सर्वोच्च अदालतले दिएको आदेशबारे स्मरण गराउँदै महानगरले मंगलबारदेखि सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन गर्न महानगरभित्रका सबै सामुदायिक विद्यालयलाई निर्देशनात्मक परिपत्र गरेको हो ।
सर्वोच्चले शिक्षकका माग तत्काल सम्बोधन गरेर तीन दिनभित्र विद्यालय फर्काउन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो ।
‘विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम यस महानगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालय ०८२/०१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नू, गराउनू हुन अनुरोध छ,’ महानगरले भनेको छ ।
महानगरपालिकाले ल्याएको शैक्षिक कार्यपात्रोअनुसार पनि विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलाप सञ्चालन हुन नसकेको विषयमा पनि महानगरले ध्यानाकर्षण गराएको छ ।