१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १६ मंगलबार o७:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एउटै मञ्चमा उभिएर पूर्वराजावादीले दिए एकताको सन्देश 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार o७:४८:oo

संवैधानिक राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाका लागि पूर्वराजावादी समूह पहिलोपटक एउटै मञ्चमा उभिएर साझा उद्देश्यका लागि एकजुट भएको सन्देश दिएका छन् । १५ चैतको प्रदर्शन हिंसात्मक बनेर जनधनको क्षति हुँदा रक्षात्मक अवस्थामा पुगेका विभिन्न दल र समूहमा विभक्त पूर्वराजावादी समूहले सोमबार एउटै मञ्चमा उभिएर एकजुट भएर अगाडि बढ्ने सन्देश दिएका हुन् । त्यसरी सबैलाई एउटै मञ्चमा उभ्याउने अभियानको अगुवाको भूमिका राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेका हुन् । 

थापा नेतृत्वको राप्रपाले भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, पूर्वराजा ज्ञानेन्द्र शाहको योजनाअनुसार बनेको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, बिपी कांग्रेसका महामन्त्री देवेन्द्र पौडेल, शिवसेना नेपालका उपाध्यक्ष गंगा चौधरीदेखि राप्रपाका वरिष्ठ नेताहरू डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरालगायतका पूर्वराजावादी पक्षधर नेताहरू संयुक्त रूपमा भेला भएका थिए । 

उनीहरूले थापाको आह्वान र संयोजनमा राजसंस्था पुनर्स्थापनाका लागि मञ्चमै हातेमालो गर्दै अभिवादन मात्र गरेनन्, गला मिलाएर साझा उद्देश्यका लागि एकतासहित अगाडि बढ्ने सन्देश प्रवाह गरे । थापासहित अधिकांश नेताले १५ चैतको प्रदर्शनमा सरकारले लोकतन्त्रका नाममा निरंकुशता लादेको, गुण्डागर्दी गरेको आरोप लगाए । त्यस्तै, उनीहरूले आगामी अभियानमा सबै समूह र दल एकतासहित अगाडि बढ्ने बताए । केही नेताले भने पूर्वराजा ज्ञानेन्द्र शाहले लचक बनेर संरक्षण गरेकै कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जीवनरक्षा भएको दाबीसमेत गरे । 

थापाले अहिलेको अवस्थामा राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य पुनर्स्थापनाको आन्दोलनमा राप्रपाले सबै दल र समूहलाई समेट्नुपर्ने बताए । उनले त्यसका लागि अध्यक्ष लिङ्देनलाई अग्रसरता लिन आग्रहसमेत गरे । ‘मलाई सार्वजनिक रूपमा भन्दा कत्ति पनि आपत्ति छैन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मेरो अत्यन्त प्रिय भाइ हुनुहुन्छ, हिजो राजनीतिक आरोह–अवरोहमा विभिन्न घटना–दुर्घटना भए होलान्, अहिलेको घडीले उहाँको सक्रिय सहभागिता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको छ,’ उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले नै सबैलाई समेट्नुपर्छ, त्यो पहल लिन म माननीय राजेन्द्र लिङ्देनलाई आग्रह गर्दछु ।’

राजसंस्था र हिन्दु राज्यमाथि विश्वास गर्नेहरू स्वार्थबाट माथि उठेर साझा उद्देश्यका लागि एकैठाउँ उभिनुपर्नेमा पनि उनले जोड दिए । ‘हामी सबै एकढिक्का भएर अगाडि बढ्ने संकल्प गरौँ । केही हप्ता, केही महिनाभित्रै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न सकिन्छ । एकपटक सबै प्रकारका स्वार्थभन्दा हामी माथि उठौँ र अगाडि बढौँ । सबै हामी एक ठाउँमा उभिँदा गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन्,’ थापाले भने ।

राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दू राज्य पुनर्स्थापना तथा संघीयता खारेजीको पक्षमा हुने सबै प्रकारको कार्यक्रममा राप्रपा एकै ठाउँ उभिने बताए । ‘राजसंस्था पुनर्स्थापनाको पक्षमा, हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा, संघीयता खारेजीको पक्षमा, देशमा सुशासन र विकासको पक्षमा गरिने सबै प्रकारका कार्यक्रमहरूमा हाम्रो ऐक्यबद्धता हुन्छ । हामी यी मान्यता स्थापनाका लागि हुने सबै शान्तिपूर्ण कार्यक्रममा हामी साथमा हुन्छौँ । हामी सबै सँगै छौँ, सबैसँग मिलेर राप्रपा काम गर्न तयार छ, यसमा कुनै द्विविधा नरहोस्,’ उनले भने । 

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले बाटो बिराएका तत्कालीन माओवादी अध्यक्ष प्रचण्डलाई राजाले नै क्षमा दिएर संरक्षण गर्दै जीवनरक्षा गरेको दाबीसमेत गरे । 

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनर्स्थापनाका लागि राजावादी, हिन्दुवादी सबै एक ठाउँमा उभिएको बताए । उनले आस्थाका बन्दीलाई तुरुन्त रिहाइ गर्न माग पनि गरे । शिव सेना नेपालकी उपाध्यक्ष गंगा चौधरीले अहिलेको अवस्थामा राजसंस्थालाई शीरमा राखेर अघि बढ्नुको विकल्प नभएको बताइन् । कांग्रेस बिपी समूहका महामन्त्री देवेन्द्र पौडेलले आन्दोलनका लागि विदेशी गुहार्न नहुने भन्दै नेपाली जनतालाई गोलबन्द गरेर निर्णायक बनाइनुपर्नेमा जोड दिए ।