
पाकिस्तान र भारतका सेनाबिच विवादित कास्मिरमा लगातार तेस्रो रात पनि गोली हानाहान भएको छ । दुई देशबिच तनाव बढ्दै जाँदा सीमामा तेस्रो रात पनि गोली हानाहान भएको हो । चार दिनअघि (२२ अप्रिल)मा भारत प्रशासित कास्मिरको पहलगाममा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली हानेर २६ जना पर्यटकको हत्या गरेपछि दुई देशबिचको सम्बन्ध बिग्रिएको छ । भारतले आक्रमणका लागि पाकिस्तानलाई दोष लगाएको छ भने इस्लामाबादले यसलाई अस्वीकार गरेको छ ।
भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल कास्मिरमा सर्वसाधारणमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीलाई ‘सीमापार आतंकवाद’ले समर्थन गरेको आरोप लगाएको छ । इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ र पाकिस्तानलाई आक्रमणसँग जोड्ने प्रयासलाई ‘तुच्छ’ भन्दै कुनै पनि भारतीय कारबाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ ।
भारतीय सुरक्षा बलले अप्रिल २२ मा पहलगाममा पर्यटकीयस्थलमा २६ पुरुषको हत्या गर्नेहरूको व्यापक खोजी अभियान सुरु गरेका छन् र प्रहरीले फरार बन्दुकधारीमध्ये दुई पाकिस्तानी नागरिकको नाम दिएको छ । भारतीय सेनाले दुई देशलाई विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी)मा गोली हानाहान भएको जनाएको छ । ‘हाम्रा सेनाले गोलाबारीसहित प्रभावकारी ढंगले जवाफ दिए,’ भारतीय सेनाले भनेको छ ।
पाकिस्तानले पनि जवाफी फायर गरेको प्राप्त विवरणमा जनाइएको छ । आक्रमणपछि नयाँदिल्लीले पानी बाँडफाँड सन्धि स्थगित गरेको छ, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गरेको छ, कूटनीतिक सम्बन्ध कम गरेको छ र पाकिस्तानीका लागि भिसा फिर्ता लिएको छ । जवाफमा इस्लामाबादले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारलाई निष्कासन गर्न आदेश दिएको छ, सिख तीर्थयात्रीबाहेक भारतीय नागरिकका लागि भिसा रद्द गरेको छ र आफ्नोतर्फबाट मुख्य सीमा क्रसिङ बन्द गरेको छ ।