१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
लोरचन लोभेट
Invalid date format १o:२२:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

प्राकृतिक विपत्तिमा पनि दमनलाई निरन्तरता दिइरहेको म्यानमार

भूकम्प प्रभावित क्षेत्रमा युद्धविराम घोषणा गरिए पनि सशस्त्र समूहविरुद्ध सेनाको अभियान तीव्र

Read Time : > 3 मिनेट
लोरचन लोभेट
नयाँ पत्रिका
Invalid date format १o:२२:oo

गत मार्च २८ तारिखमा म्यानमारलाई एक शक्तिशाली भूकम्पले हल्लायो । मध्य सागाइङ क्षेत्रमा केन्द्रविन्दु रहेको ७.७ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको  संख्या पचपन्न सय पुग्यो । थप हजारौँ घाइते छन् । आममानिस बिस्तारै भूकम्पको प्रभावबाट बाहिरिँदै छन् । तर, देशवासी प्राकृतिक विपत्तिबाट बाहिरिँदै गर्दा देश भने अझ ठुलो मानवीय विपत्तिमा फस्ने डर बढेको छ । म्यानमार विगत चार वर्षदेखि गृहयुद्धमा छ । पछिल्लो समय सैन्य शासक चारैतिरबाट घेरिँदै छ । अहिले आएको भूकम्पले यस गृहयुद्धको गतिशीलतालाई थप प्रभावित बनाउन सक्छ ।

भूकम्पले हजारौँ घर, पूर्वाधार, पुल र सडक भत्किएको र सेनाको हतियार उत्पादन गर्ने कारखानाको बिजुली आपूर्तिसमेत अवरुद्ध भएको सेनाका पूर्वमेजर टिन लिन आङले बताउँछन् । लिन आङ सन् २०२२ मा प्रतिरोध आन्दोलनमा भाग लिन म्यानमार सेना परित्याग गरेका केही शीर्ष सैन्य व्यक्तित्वमध्ये एक हुन् । सैन्य आपूर्तिमा अभावको संकेत देखिन थालेको उनको भनाई छ । लिन आङका अनुसार सरकारी सेनाबाट पछिल्लो समय कब्जा गरिएका गोलीगठ्ठाका खोलमा यसै वर्षको उत्पादन मिति छ । ‘म सेनामा हँुदा केही गोली हामी जन्मनुभन्दा अघि बनेका भनेर ठट्टा गथ्र्यौं । अहिले त भर्खरै बनेका गोलीगठ्ठा प्रयोगमा ल्याउन थालेको देखिएको छ,’ उनले भने । 

सेनाको गोलाबारुद उत्पादनमा अवरोध आएको समाचार आएकै समयमा सेनाको नियन्त्रणमा रहेका क्षेत्र लगभग चारैतिरबाट पुराना जातीय सशस्त्र समूहदेखि नयाँ सशस्त्र प्रतिद्वन्द्वी सेनाको घेराबन्दीमा पर्न थालेका छन् । प्रभाव क्षेत्र गुमाउँदै गएपछि देशका मुख्य सहर र पूर्वाधारमा भने अझै सेनाको पकड बलियो छ । सहरी क्षेत्रमा सीमित हुँदै गएपछि सेनाले पुरानो भूमि फिर्ता गर्ने प्रयासमा अन्धाधुन्ध हवाई आक्रमण र गाउँबस्ती जलाउने कामलाई उग्रता दिएको छ । यस्ता कदमलाई युद्ध अपराध मान्न सकिने संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ । 

सुरक्षा विश्लेषक एन्थोनी डेभिसका अनुसार भूकम्पले म्यानमार सेनालाई उसको रणनीतिक उद्देश्यबाट विचलित गरेको छैन । सेना राहत वितरणमा खटिनुको सट्टा विद्रोहीविरुद्धको युद्धमा तैनाथ छ । 

रोकिएन सैन्य अभियान
भूकम्पले ध्वस्त बनाएको सागाइङ सहर अझै पनि सेनाको नियन्त्रणमा छ । जबकि, वरपरका ग्रामीण इलाका भने विद्रोही मिलिसियाले कब्जामा लिएका छन् । कैयौँ गुट–उपगुटमा विभाजित विद्रोहीलाई विपक्षी राष्ट्रिय एकता सरकार (एनयुजी)ले समन्वय गर्ने प्रयास गरिरहेको छ । एनयुजीले भूकम्प प्रभावित क्षेत्रमा अप्रिल २० सम्म युद्धविराम घोषणा पनि ग¥यो । तथापि, सेनाले भने सैन्य अभियानलाई रोकेको छैन । सागाइङमा सक्रिय ‘पिपुल्स डिफेन्स फोर्स (पिडिएफ)’का एक महिला लडाकुले आफूहरू राहतको काममा खटिएको र अप्रिलको युद्धविराम अन्त्य भएपछि लडाइँ तीव्र हुने जानकारी दिइन् । यस भेगमा सेनाकोभन्दा पिडिएफ लडाकुको गति तीव्र रहेको र एनयुजीले जातीय सशस्त्र संगठनसँग पहलेभन्दा राम्ररी समन्वय गरिरहेको ती लडाकुले बताइन् । 

क्षेत्रीय सुरक्षा विश्लेषक एन्थोनी डेभिसका अनुसार भूकम्पले म्यानमार सेनालाई उसको रणनीतिक उद्देश्यबाट विचलित गरेको छैन । उनका अनुसार अधिकांश सैनिक राहत वितरणमा खटिनुको सट्टा ब्यारेकमै तैनाथ छन् । ‘सेनाले पीडितहरूको उद्धारमा पर्याप्त ध्यान दिएको छैन । उनीहरूले हवाई आक्रमणलाई निरन्तरता दिएका छन् । सम्भव भएसम्म छिटै पिडिएफविरुद्ध स्थल हमला सुरु हुने संकेत देखिन्छ,’ डेभिसले भने । 

म्यानमारमा अहिले गृहयुद्धको मुख्य युद्धभूमि पश्चिमी राखाइन राज्य बनेको छ, जुन भेग भूकम्पबाट धेरै हदसम्म बच्न सफल रह्यो । त्यहाँ, विद्रोही अराकान आर्मी (एए) र सेनाबिच राज्यको राजधानी सिट्वे र त्यसवरपर बारम्बार झडप हुने गरेको छ । अराकान राज्यको क्याक्फ्युमा पनि छिट्पुट झडप हुन्छ । त्यो सहर म्यानमारभरिबाट चीनमा ग्यास ढुवानी गर्ने प्रमुख पाइपलाइन रहेको क्षेत्र हो ।

अराकान आर्मीले एकै साथ देशको पश्चिमस्थित आफ्नो गृहभूमिबाट बाहिर निस्केर म्यानमारको केन्द्रीय भूभाग मग्वे, बागो र अøयार्वाडी क्षेत्रहरूमा फैलिएको डेभिसले बताए । तिनले द्वन्द्वलाई एक वा अर्को तरिकाले उल्लेखनीय रूपमा प्रभावित बनाउन सक्ने देखिएको डेभिसले बताए । अनुमानित ४० हजार लडाकु रहेको आराकान आर्मीसँग सैन्य शासकलाई पराजित गरेको प्रमाणित रेकर्ड छ ।

उत्तर र उत्तर–पश्चिममा सेना पछाडि हेटेको छ । काचिन स्वतन्त्रता सेनाले भूकम्पपछि युद्धविराम घोषणा गरेको थियो । तर, युद्धविरामबिच नै आठ महिनाको घेराबन्दीपछि ऊ अप्रिल ७ मा उत्तरी सागाइङ क्षेत्रमा रहेको ‘इनड’ सहर कब्जा गर्न सफल भयो । जातीय चीन प्रतिरोध सेनाले पनि हालै पश्चिमी म्यानमारको फालाम आवास क्षेत्रमाथि नियन्त्रण प्राप्त गर्‍यो । 
राजनीतिक विश्लेषक क्याव सान ह्लाइङका अनुसार सेना अझै पनि भूकम्पको परिणामसँग जुधिरहेको छ ।

परिणामस्वरूप अराकान आर्मी र अन्य सशस्त्र समूहलाई थप सहर कब्जा गर्ने मार्ग खुला हुन सक्छ । ‘तर, यस्ता लाभ एकैपटकभन्दा पनि बिस्तारै हासिल हुने सम्भावना छ । किनकि, बागो र मग्वेजस्ता क्षेत्रमा संकटको समयमा पनि टिकेर सेनाले आफ्नो क्षमता देखाइसकेको छ ।  दीर्घकालीन रूपमा, भूकम्पले म्यानमारमा शक्ति सन्तुलनलाई मौलिक रूपमा परिवर्तन गर्ने सम्भावना छैन,’ ह्लाइङले भने । 

सैन्य नेतृत्वविरुद्धको दैवी श्राप !
भूकम्पले सैन्य शासनविरुद्ध निर्णायक धक्का दिन नसके पनि जनरलहरूलाई भने मानसिक झट्का दिएको छ । ज्योतिष तथा तन्त्रमन्त्रमा अत्यधिक विश्वास राख्ने देश भएकाले धेरैले प्राकृतिक प्रकोपलाई म्यानमारको सैन्य नेतृत्वविरुद्धको दैवी श्रापका रूपमा व्याख्या गरिरहेका छन् । ‘तिनीहरूले यो भूकम्पलाई ईश्वरीय हस्तक्षेपको रूपमा हेरेका छन् । अर्थात्, शासकको गल्तीविरुद्ध ईश्वरले दिएको दण्ड । मैले सुनेअनुसार जनरलहरूले समेत सैन्य प्रमुख मिन आङ ह्लाइङलाई प्रत्यक्ष रूपमा दोष दिइरहेका छैनन् । तर, उनको नेतृत्व र क्षमताबारे प्रश्न उठ्न थालेको छ,’ सैन्य प्रतिष्ठानभित्र गोप्य सम्पर्क रहेको बताउने पूर्वमेजर टिन लिन आङले भने । 

टिन लिन आङका अनुसार भूकम्पपछि सैन्य नेतृत्वले देशभरका निजामती कर्मचारीलाई लगातार नौ दिनसम्म दैनिक नौपटक सुरक्षात्मक बौद्ध मन्त्र पढ्न आदेश दिएका थिए । बौद्ध परम्परामा नौ नम्बरको शुभ मानिन्छ । इन्टरनेसनल क्राइसिस ग्रुपमा म्यानमार विषयका वरिष्ठ सल्लाहकार रिचर्ड हर्सीका अनुसार म्यानमार सेनाका कमान्डर–इन–चिफ वरिष्ठ जनरल मिन आङ ह्लाइङले यी अलौकिक व्याख्यालाई खारेज गरेका छन् । तर, उनीनजिकका भित्री घेराले भने यसलाई गम्भीरतापूर्वक लिएकाले उनीमाथि जोखिम बढेको छ । भूकम्पलाई उच्च सैन्य पदाधिकारीले अशुभ संकेतको रूपमा लिँदा मिन आङ ह्लाइङको अधिकारको क्षय हुने र उनको खुला आलोचना बढ्न सक्ने उनको अनुमान छ । 

द्वन्द्वमा सेनाका निर्णयलाई आकार दिने विभिन्न कारकमध्ये अन्धविश्वास एउटा कारक हो । भूकम्पले ‘म्यानमारको आधारभूत संरचनामा ठुलो क्षति पुर्‍याएको’ हर्सीले बताए । जस्तो, आवास क्षेत्रमा भएको भयावह क्षतिका कारण मन्डेलाका बासिन्दालाई सम्भावित रूपमा अन्यत्र स्थानान्तरण गर्नुपर्ने हुन्छ । भूकम्पको विकराल अवस्थालाई हेर्दा यसले गृहयुद्धलाई असर गर्ने सम्भावना छ । ‘तर, कस्तो असर पार्छ भन्ने कुरा भने भन्न सकिने अवस्था छैन,’ हर्सीले स्विकारे । भूकम्पपीडितको उद्धारमा सेनाको उदासीनताका कारण सर्वसाधारणको नजरमा सेनाको प्रतिष्ठा अझ खस्किएको छ । 
अल जजिराबाट