
आइतबार वर्ष ०८१ को अन्तिम दिन थियो। वर्ष २०८१ लाई मैजारो गर्न सम्पूर्ण किताब नारायणगढले नयाँ वर्ष ०८२ को शुभकामना आदानप्रदान एवं कवितावाचनको कार्यक्रम राखेको थियो। कविता सुनाउन रोल्पाका कविहरू प्रेमप्रकाश र समीप बैरागी आएका थिए। ‘रोल्पाका कविता’ नाम दिइएको कार्यक्रममा दुई चरणमा गरेर कविद्वयले ६–६ वटा कविता प्रस्तुत गरे।
कार्यक्रमको सुरुवातमा कवि प्रेमप्रकाश प्रस्तुत भए। उनले ‘आगो लिन गएकाहरू’ शीर्षकको कविता सुनाए। यो कविता उनको हालै प्रकाशित संग्रह ‘रगतको तर्पण’मा पनि छ। कविताको एक हरफ यस्तो छ :
साँच्चै
कति लाग्ला समय
आगो लिन गएकाहरूलाई
फर्किएर यहाँ आइपुग्न ?
मौन जुलुसमा
जाग्राम सुतेको छ एउटा नीरस रात
अदम्य साहसमा
बाँचेको छ अर्को अपरिमार्जित इतिहास
बिद्रोही आँखामा
विगत–अन्दाज गरिरहेछ एक छापामार योद्धा !
कवि प्रेमप्रकाशले अन्य कविता पनि संग्रहबाटै छाने। सँगसँगै उनले ‘एउटा छापामारको अन्तिम आलाप’, ‘आदिवासी परिचय’, ‘झण्डाको यात्रा’, ‘विचार जरुरी छ’ र ‘सिरानीमा सपनाको दाग’ शीर्षकका कविता सुनाए।
अर्का कवि समीप बैरागीले पनि आफ्नो कवितासंग्रह ‘साहिमासा’बाटै कविता सुनाए। उनले पहिलो कवितास्वरूप ‘कृपया न्याय दिनुहोस्’ शीर्षकको कविता सुनाए।
श्रीमान् !
सपनाको मलामबाट फर्केर
न्याय माग्न –
हजुरको न्यायालयमा आएको छु
कृपया मलाई न्याय दिनुहोस्।
नत्र बहुलायो भने मजदुरको आँसु
ईश्वरलाई पनि बगाउन सक्छ।
यो कवितामा कविले आग्रह र आक्रोश मिसाएका छन्। त्यसपछि पालैपालो ‘निर्णय’, ‘प्रिय पत्रकार’, ‘तिमीलाई पर्खिरहेछु’, ‘साहिमासा’ र ‘नदुखाइदिनू मेरो छाती’ शीर्षकका कविता प्रस्तुत गरे।
कवितावाचन कार्यक्रम सकिएपछि कविताका सन्दर्भमा विमर्श गरिएको थियो। कवि भूपिनले कविद्वयका कवितामा रोल्पा, विद्रोह र स्थानीय विम्बहरूको सुवास मिसिएको बताए। ‘उहाँहरूलाई चितवनमा सुन्न पाएर आनन्दित महसुस गरेँ,’ भूपिनले भने।
कार्यक्रममा त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासीका अध्यक्ष इन्द्रराज पौडेलले कविद्वयलाई खादा लगाएर सम्मान गरेका थिए भने उदय अधिकारीले स्वागत मन्तव्य राख्दै दुवैजना कविका कविताले आफूलाई प्रभाव पारेको बताए। रमेश प्रभात, विद्या भण्डारी चिराग, रामकृष्ण अनायास, डोलबहादुर केसी, सुरेन्द्र अस्तफल, रवीन्द्र पौडेल, बालकृष्ण थपलियालगायतले कविता राम्रो लागेको प्रतिक्रिया दिएका थिए।