Skip This
उद्घाटन भएको १७ वर्षपछि तल्लो मूलपानी मैदानमा अन्तर्राष्ट्रिय खेल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Tuesday, 15 April, 2025
पहिलो अन्तर्राष्ट्रिय खेलअघि राष्ट्रिय गान गाउँदै नेपाली यू–१९ टिम ।
रमेश सुवेदी काठमाडाैं
२o८२ बैशाख १ सोमबार o९:o८:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उद्घाटन भएको १७ वर्षपछि तल्लो मूलपानी मैदानमा अन्तर्राष्ट्रिय खेल

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार o९:o८:oo

उद्घाटन भएको १७ वर्षपछि मूलपानीको तल्लो क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल आयोजना भएको छ । मूलपानीको तल्लो र माथिल्लो मैदानमा आइतबारबाट आइसिसी यू–१९ एकदिवसीय विश्वकप एसिया छनोट सुरु भएको हो । पहिलो दिन दुवै मैदानमा खेल भए । माथिल्लो मैदानमा अफगानिस्तानले ओमानलाई आठ विकेटले हरायो । तल्लो मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो खेल हुँदा आयोजक नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई डकवर्थ लुइस पद्धति (डिएलएस)का आधारमा ५ रनले पराजित गर्‍यो । माथिल्लो मूलपानी मैदान भने गत वर्ष नै अन्तर्राष्ट्रिय खेल गराउन सफल भएको थियो । 

०६० मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को परियोजनाअन्तर्गत तत्कालीन मूलपानी गाविसले वडा नं. ८ को लगभग चार सय रोपनी खाली जग्गा उपलब्ध गराएको थियो । जग्गा हस्तान्तरणको तीन वर्षपछि मैदानको निर्माण कार्य सुरु भएको हो । मैदानमा खेल आयोजना भए पनि अझै पूर्ण पूर्वाधार तयार भएको छैन । पूर्वाधार पूरा नभए पनि नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग समन्वय गरेर १७ वर्षपछि प्रतियोगिता आयोजना गर्न सफल भयो । जग्गा मुआब्जाको विवादपछि पछिल्लोपटक मैदानले पूर्ण आकार पाएको थियो । आधा प्यारापिट र एक भिआइपी बक्स तयार भए पनि अझै बाटो र ढल व्यवस्थापन नहुँदा पूर्वतर्फ प्यारापिट बन्न सकेको छैन । तत्काललाई अव्यवस्थित बाटोतर्फ सुरक्षा प्रबन्ध मिलाएर प्रतियोगिता गराइएको छ । त्यस्तै, आउटफिल्ड अझै राम्रो हुन सकेको छैन । मैदानको केही भागमा पानी जमेपछि उद्घाटन खेल पनि निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भयो । 

आयोजक नेपालसहित अफगानिस्तान, युएई, हङकङ र ओमानले एसिया कप छनोट खेलमा प्रतिस्पर्धा गर्दै छन् । राउन्ड रोबिन लिगको शीर्ष स्थानको टोलीले सन् २०२६ मा जिम्बावे र नामेबियाले संयुक्त रूपमा आयोजना गर्ने यू–१९ विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । नेपाल लगातार विश्वकप खेल्ने लक्ष्यमा छ । 

नेपालको विजयी सुरुवात 
नेपालले डकवर्थ लुइस पद्धति (डिएलएस)का आधारमा युएईलाई ५ रनले पराजित गरेको छ । जितसँगै नेपालले २ अंक हासिल गरेको छ । वर्षाका कारण टस ढिला भएपछि खेल ४० ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २०० रनको लक्ष्य प्रस्तुत गर्‍यो । युएईले ३६ ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएपछि वर्षा भयो । वर्षा र खराब प्रकाशका कारण खेल नभएपछि नेपाल डिएलएस पद्धतिका आधारमा विजयी भएको हो । युएईका लागि ययिन किरण राईले शतकीय इनिङ्स खेले । उनले ९६ बलमा आठ चौका र पाँच छक्कासहित अविजित १०४ रन बनाए । 

मोहम्मद रायन खानले ३५, करण धिमनले १५ बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि अशोक धामी र सन्तोषकुमार यादवले समान दुई विकेट लिँदा अभिषेक तिवारी र कप्तान नरेन भट्टले समान एक लिएका थिए ।
नरेनको कप्तानी इनिङ
नेपालका लागि नरेन भट्टले कप्तानी इनिङ खेले । उनले ७५ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६७ रन बनाएका थिए । दिलसद अलीले ३४, सहिल पटेलले ३२, नीरजकुमार यादवले १८, सन्तोष यादवले ११ र अशोक धामीले अविजित १० रन बनाएका थिए । युएईका लागि युदिस सुरीले सर्वाधिक तीन विकेट लिएका थिए । युग शर्मा र सलोम डी सुजाले समान दुई लिए । 

बजेट निकासा भए बाँकी काम पनि चाँडै पूरा हुन्छ
 टंकलाल घिसिङ, सदस्यसचिव, राखेप

१७ वर्षपछि मेरै उपस्थितिमा तल्लो मैदानको उद्घाटन भएको छ । म आउने वेलासम्म मैदानमा सुकुम्बासीका घर थिए । उनीहरूलाई हटाउन सफल भयौँ र पछिल्लो संरचना बनेको छ । म आएपछि दुई ब्लक र भिआइपी भवन बनेको छ । अब, बाँकी काम अगाडि बढेको छ । बाटो र ढलका लागि बजेट माग गरिएको छ । अर्थ मन्त्रालयबाट बजेट निकासा भएलगत्तै पूर्ण पूर्वाधार बन्छ । बजेट आए फ्लड लाइट पनि जोडिनेछ ।