
सन् २०११ मा राष्ट्रपति ओबामाले स्टिभ जब्सलाई आइफोन अमेरिकामै कसरी उत्पादन गर्न सकिन्छ भनेर सोध्दा जब्सले प्रश्नको आशय बुझ्दै आइफोनले सिर्जना गरेका रोजगारी फिर्ता नआउने बताएका थिए । उच्च–प्रविधियुक्त उत्पादनका लागि आपूर्ति शृंखला, सीप र सम्बन्ध विकास गर्न वर्षौं लाग्छ र कारखाना सजिलै सार्न सकिँदैन ।
तर, राष्ट्रपति ट्रम्पले यो बदल्ने प्रयास गरे । ‘मुक्ति दिवस’मा उनले व्यापार घाटा सन्तुलन गर्ने नाममा व्यापक भन्सार शुल्क घोषणा गरे, जसले अमेरिकी अर्थतन्त्र हल्लायो र सेयर बजारमा गिरावट आयो । वाल स्ट्रिटको दबाबपछि उनले ९० दिनका लागि केही शुल्क स्थगित गरे, तर चीनमाथि मात्र अझै कडाइ गरेका छन् । बजार केही सुध्रिए पनि अनिश्चितता अझै छ र यी शुल्क पुँजी लागतमै गाभिइसकेकाले दीर्घकालीन असर पर्ने देखिन्छ ।
घोषणापछि धेरै विश्लेषकले भन्सार शुल्क गणना गर्ने सूत्र र नयाँ नीतिको त्रुटिपूर्ण आर्थिक बुझाइलाई उजागर गरेका छन् । राष्ट्रपति ट्रम्प भन्सार शुल्कको यो सूत्रमा त्रुटि छैन भन्ने ठान्छन् । यसबाहेक अमेरिका आफैँले सबै कुरा उत्पादन गर्न खोज्नु पनि व्यावहारिक होइन । हामी हाम्रा व्यक्तिगत जीवनमा पनि सबै किनबेच बराबरीमा गर्दैनौँ । र, कुनै मुलुकले सबै कुरा आफैँ बनाउन खोजेमा त्यसले विशेषीकरण गुमाउँछ । त्यसैगरी, यसले उत्पादन क्षमतामा गिरावट ल्याउँछ र मुलुकले अग्रता लिन चाहेका धेरै क्षेत्रमा प्रतिस्पर्धी हुन सक्दैन ।
अन्य विषय स्थिर रहेसम्म अमेरिकाको विश्वव्यापी भन्सार शुल्क वृद्धिले उसलाई फाइदाभन्दा क्षति नै बढी हुने सम्भावना छ । र, यसका पछाडि रहेका कारण बुझ्नु महत्वपूर्ण छ । वास्तवमा अमेरिका अरू मुलुकबाट ‘लुटिएको’ होइन, बरु यसको प्रतिस्पर्धात्मकताको समस्या उत्पादनको विश्वव्यापीकरणसँग जोडिएको छ ।
अन्य विषय स्थिर रहेसम्म विश्वव्यापी भन्सार शुल्क वृद्धिले अमेरिकालाई फाइदाभन्दा बढी क्षति हुने सम्भावना छ
विशेषतः चीनबाट आयातका कारण सिर्जिएको समस्यालाई ‘चाइना सिन्ड्रोम’ वा ‘चाइना सक’ भनिन्छ, जसलाई सन् २०१३ मा डेविड अटोअर, डेविड डोर्न र गोर्डन हेन्सनले आफ्नो अध्ययनमा उल्लेख गरेका थिए । सन् १९९९ देखि २०११ सम्म चीनबाट आयातको बाढीका कारण झन्डै २० देखि ३० लाख अमेरिकी उत्पादन क्षेत्रका रोजगारी गुमेका थिए । त्यसयता पनि अन्य धेरै क्षति भइसकेको छ, जबकि अमेरिकाको मध्य–पश्चिम र दक्षिणका क्षेत्रमा रहेका उद्योगले चीनसँग सीधै प्रतिस्पर्धा गर्थे ।
त्यसैगरी, अमेरिकामा नयाँ सिर्जना भएका रोजगारीले पहिले गुमेका रोजगारीका क्षेत्रलाई प्रतिस्थापित गर्न सकेनन् । यसले रोजगारी गुमाएका समुदायमा तलब घट्ने, बेरोजगारी बढ्ने, ओपिओइड लागुपदार्थको लत, सामाजिक अस्थिरता र राजनीतिक ध्रुवीकरणजस्ता समस्या निम्त्यायो । उत्पादन क्षेत्रबाहिरका श्रमिक विशेषतः कलेज डिग्री नभएका पनि तलब स्थिरताका मारमा परे, किनभने श्रम बजार प्रतिस्पर्धी बन्दै गयो र श्रमिकको बार्गेनिङ गर्ने शक्ति कमजोर बन्यो । ‘कोडिङ सिक’ भन्ने वा प्रविधि क्षेत्रमा सर्न दिइने सुझाव प्रायः असफल भए । यो असफलताको चपेटामा धेरै श्रमिक परे । विशेषतः उमेर ढल्केका वा आर्थिक रूपमा कमजोर समुदायका श्रमिकले सजिलै पुनर्तालिम लिन सकेनन् ।
विश्वव्यापीकरणले वाल स्ट्रिट (अमेरिकी स्टक बजार) लाई फाइदा त पु¥यायो, तर मेन स्ट्रिट (सामान्य नागरिक व्यापारिक मामिला) लाई फाइदा गरेन । र, यो विषय सस्तो वस्तुमा मात्र सीमित छैन, अर्थात् उच्च प्रविधि उत्पादनमा पनि अमेरिकाको व्यापार घाटा छ, जुन सन् २०२४ मा झन्डै तीन खर्ब डलरसम्म पुगेको थियो । अमेरिकाले ऋण लिएर घाटा पूर्ति गर्दै उपभोग गरिरहेको छ, तर यो दीर्घकालीन रूपमा अस्थायी रणनीति हो र अब केही परिवर्तन आवश्यक छन् । के विश्वभर भन्सार शुल्क वृद्धि गर्नु अमेरिकाको प्रतिस्पर्धात्मक समस्याको समाधान हो ? यसको उत्तर अमेरिका के हासिल गर्न चाहन्छ भन्नेमा निर्भर हुन्छ, अर्थात् अन्तर्राष्ट्रिय बजारमा पहुँच, कूटनीतिक दबाब वा विगतमा गुमाएका रोजगारी फर्काउने प्रयास ? हरेक उद्देश्यका लागि भिन्न रणनीति आवश्यक पर्छ ।
अमेरिकाले व्यापारिक दबाबमार्फत केही सम्झौता गर्न त सक्ला, तर त्यसका लागि अमेरिकाले आफ्नै नागरिकको क्रयशक्तिको मूल्य चुकाउनुपर्नेछ । अमेरिकाले निर्यातमा केही अवरोध हटाउन अन्य देशलाई बाध्य पार्न सक्छ, तर त्यो जिएम वा फोर्डलाई जोगाउन पर्याप्त हुनेछैन । र, रोजगारी फर्काउने विषयमा वाणिज्य सचिव हावर्ड लुटनिकले अमेरिका फर्कने कारखाना मुख्यतः रोबोटले चलाउनेछन् भनेका छन् ।
देश र कम्पनीलाई जबर्जस्ती लगानी गर्न लगाउने रणनीतिको सीमा हुन्छ । कुनै उत्पादनको संरचना सार्न वर्षौं लाग्छ । अमेरिका पुनः नवप्रवर्तन, विकास र उत्पादनमा आफ्नो प्रभुत्व जमाउन चाहन्छ भने अनुसन्धानको बजेट कटौती गर्नु वा विश्वविद्यालय अनुसन्धानलाई लक्षित गर्नु उपयुक्त होइन, किनभने ती सबैबाट अमेरिकी कम्पनीले साझा रूपमा लाभ उठाउँछन् ।
आउटसोर्सिङ (सीमित अवधिका सीमित काम लगाउने प्रक्रिया) उल्ट्याउने प्रयास गर्नु भनेको निचोरेको दन्तमञ्जनलाई फेरि ट्युबमा हाल्ने प्रयासजस्तै हो । ट्रम्प कति लामो समयसम्म यो रणनीतिमा टिकिरहन्छन् ? शक्तिशाली समूहबाट दबाब बढ्दै छ, रिपब्लिकन पार्टीभित्रै दरार देखा पर्न थालेका छन् र चीनको जवाफी कठोरताले यसलाई झनै जटिल बनाइरहेको छ । भन्सार शुल्क वृद्धि सफल नहुन सक्छ, बरु मुद्रास्फीति बढ्दा ट्रम्पकै लागि मध्यावधि चुनावमा घाटा हुन सक्छ । तर, ‘वाल स्ट्रिटविरुद्ध मेन स्ट्रिट’को समस्या झनै गहिरो हुँदै जानेछ र त्यसलाई ट्रम्पले होस् या उनका उत्तराधिकारीले, कसैले न कसैले अन्ततः समाधान गर्नु नै पर्नेछ ।
(मुनिर क्याम्ब्रिज विश्वविद्यालयको जज बिजिनेस स्कुलका नीति एवं रणनीतिका प्राध्यापक हुन्) अल जजिराबाट