
इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसिएचएलको नेपाल पेमेन्ट इन्टरफेस जोडी डिजिटल कारोबार सुरु गरेको छ । यसैसँग इन्फिनिटी लघुवित्त एनपिआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ ।
लघुवित्तका ग्राहकले अब एनसिएचएल–आइपिएस र आरपिएस प्रणालीमार्फत बचत निक्षेप, कर्जाको किस्ता भुक्तानीलगायतका विभिन्न संकलनका करोबार गर्न सक्नेछन् । साथै तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबार आफ्ना तथा लाभग्राहीकै बैंक खातामा सोझै गर्न सकिने बताइएको छ । लघुवित्तले एनपिआईमार्फत आफ्ना शाखाको बैंक खातामा भएको रकम सहजै केन्द्रीकृतसमेत गर्न सक्नेछन् ।
एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसका रूपमा ओपन एपिआईको अवधारणामा एनपिआई विकास गरिएको हो । हाल यसमा ५३ सदस्य बैंक, वित्तीय संस्था आबद्ध छन् भने अन्य पिएसपी, पिएसओ, रेमिट्यान्स कम्पनी, ११ वटा लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थालगायतका सयभन्दा बढी गैरबैंकिङ सदस्यका रूपमा आबद्ध छन् । यसमार्फत सदस्य संस्थाले एनसिएचएल–आइपिएस र आरपिएस प्रणालीको प्रयोग गर्न सक्नेछन् ।