१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
बेइजिङ
Invalid date format ११:४४:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

५०% भन्सार थप्ने ट्रम्पको चेतावनी, ‘अन्त्यसम्म लड्ने’ चीनको प्रतिज्ञा

Read Time : > 2 मिनेट
बेइजिङ
नयाँ पत्रिका
Invalid date format ११:४४:oo
  • जवाफी करबाट चीन पछि नहटे उसका आयातमाथि थप ५०% कर लगाउने ट्रम्पको नयाँ चेतावनी कार्यान्वयन भयो भने अमेरिका आयात हुने चिनियाँ वस्तुहरूमा कुल भन्सार शुल्क १०४ प्रतिशत पुग्नेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत भन्सार बढाउने धम्की दिएपछि चीनले मंगलबार ‘अन्त्यसम्म लड्ने’ प्रतिज्ञा गरेको छ । चीनको कठोर जवाफले व्यापार युद्ध बढ्न सक्ने डर बढेको छ । यसले पहिले नै खर्बौँ डलर गुमाइसकेको विश्वका प्रमुख सेयर बजारमा थप गिरावट देखिएको छ । 

ट्रम्पले गत हप्ता व्यापक भन्सार महसुल लगाएर विश्व अर्थतन्त्रलाई हल्लाइदिएका थिए । यसले अन्तर्राष्ट्रिय मन्दीको खतरा उत्पन्न गरेको छ । तर, बजारमा नाटकीय गिरावट आए पनि ट्रम्पले आफ्नो आक्रामक व्यापार नीतिमा कुनै परिवर्तन नहुने बताएका छन् । 

ट्रम्पले चिनियाँ आयातमाथि ३४ प्रतिशत भन्सार लगाएको जवाफमा बेइजिङले बिहीबारदेखि लागू हुने अमेरिकी सामानहरूमा आफ्नै ३४ प्रतिशत भन्सार शुल्कको घोषणा गरेको छ । चीनले जवाफी करबाट पछि नहटे उसका आयातमाथि थप ५० प्रतिशत कर लगाउने ट्रम्पले नयाँ चेतावनी दिएका छन् । यदि ट्रम्पले उनको चेनावनी कार्यान्वयन गरे भने अमेरिका आयात हुने चिनियाँ वस्तुहरूमा कुल भन्सार शुल्क १०४ प्रतिशत लाग्नेछ । 

‘मलाई चीनप्रति ठुलो सम्मान छ, तर उनीहरूले हामीमाथि भन्सार बढाउने कदम चाल्न सक्दैनन्,’ ट्रम्पले चिनियाँ कदमबारे टिप्पणी गर्दै ह्वाइट हाउसमा भने । 

उता अमेरिकाले गरेको ‘ब्ल्याकमेलिङ’को आलोचना गर्दै चीनले ‘अन्त्यसम्म लड्ने’ प्रतिबद्धता जनाएको छ । ‘ट्रम्पको धम्कीले एकपटक फेरि अमेरिकाको ब्ल्याकमेल गर्ने प्रकृतिलाई उजागर गर्दछ,’ बेइजिङको वाणिज्य मन्त्रालयका प्रवक्ताले मंगलबार भने,‘यदि अमेरिकाले आफ्ना भन्सार शुल्क बढाउँछ भने, चीनले आफ्नो अधिकार र हितहरूको रक्षा गर्न दृढतापूर्वक जवाफी कदम चाल्नेछ ।’ मन्त्रालयले आफ्नो देशले संयुक्त राज्य अमेरिकासँग ‘संवाद’ चाहेको र ‘व्यापार युद्धमा कुनै विजेता नहुने’ दोहोर्याेएको छ । 

बजारमा ठुलो गिरावट
ट्रम्पको भन्सार वृद्धिपछि विश्वभरका सेयर बजारमा आएको हलचल अझै रोकिएको छैन । एसियाली बजारमध्ये हङकङको ह्याङ सेङ सोमबार १३ दशमलव दुई प्रतिशतले गिरावट आयो । त्यसपछि मंगलबारको कारोबारको सुरुवातमा केही नोक्सानी फिर्ता भएको देखिएको थियो । उता, ठुलो गिरावटपछि वाल स्ट्रिटको सेयरहरू अझै गिरावट जारी देखिएका छन् । डाउ र एसएन्डपी ५०० दुवै घट्दै बन्द भए । ट्रम्पको भन्सार घोषणापछि अमेरिकाका सेयर बजारमा खर्बौँ डलर गुमिसक्यो । 

उता सोमबार सांघाईमा सेयरले ठुलो धक्का खाएपछि चीनको केन्द्रीय बैंकले मंगलबार कारोबार पुनः सुरु हुनुअघि एक बयान जारी गर्न बाध्य भयो । बयानमा बजारलाई स्थिर बनाउन एक्सचेन्ज ट्रेडेड फन्ड खरिद गर्दा यो सार्वभौम कोषको जवानी बस्ने उसले जोड दिएको छ ।

उता अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फक्स न्युजसँगको अन्तर्वार्तामा जापानलगायत धेरै देशले अमेरिकी भन्सार महसुल छुटका लागि ‘वार्ता चाहेको बताएपछि सेयरहरू केही सुधार देखिएको छ । 

विश्वभरबाट अमेरिका भित्रिने सामानमा लाग्ने १० प्रतिशत ‘आधार’ भन्सार महसुल शनिबार लागू भयो भने बुधबारदेखि धेरै देशमा उच्च भन्सार शुल्क लाग्नेछ । यसमा चिनियाँ वस्तुहरूका लागि ३४ प्रतिशत र युरोपेली संघ (इयू) उत्पादनका लागि २० प्रतिशत भन्सार शुल्क समावेश छ । 

बजारले आफ्नो अस्थिर यात्रा जारी राख्दै गर्दा ट्रम्पले आमअमेरिकीहरूलाई केही समय कठिनाइका लागि तयार हुन आह्वान गरे । ट्रम्प भन्सार महसुलले विदेशी कम्पनीहरूलाई वस्तुहरू विदेशमा बनाउनुको सट्टा संयुक्त राज्य अमेरिकामा बनाउन बाध्य पार्ने विश्वास गर्छन् । यसो भए अमेरिकाबाट बाहिरिएको उद्योग फर्किने र अर्थतन्त्र तथा रोजगारी पुनर्जीवित हुने उनको अडान छ । तर, अधिकांश अर्थशास्त्रीहरू यस विचारले काम गर्नेमा आशंका जताउँछन् । 

जेपी मोर्गन चेजका सिइओ जेमी डिमोनले आउँदो मुद्रास्फीतिको चेतावनी दिँदै भने, ‘भन्सार महसुलको वृद्धि मन्दी ल्याउँछ वा ल्याउँदैन भन्ने ठोकुवाका साथ भन्न सकिँदैन । तर, निश्चित रूपमा आर्थिक वृद्धिलाई सुस्त पार्नेछ ।’ ट्रम्पका कट्टर समर्थक रहँदै आएका अमेरिकी सिनेटर टेड क्रुजले समेत भन्सार वृद्धिले सामान्य मतदाताहरूमा पर्ने प्रभावबारे चिन्ता व्यक्त गरेका छन् । ट्रम्पको यस नीतिले बेरोजगारी बढ्ने तथा मूल्य वृद्धि हुनसक्ने चेतावनी दिँदै यसले अर्को वर्ष हुने मध्यावधि चुनावमा रिपब्लिकनका लागि घाटा पार्न सक्ने बताए ।