१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Saturday, 19 April, 2025
इयान बुरुमा
२o८१ चैत २६ मंगलबार १o:५२:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

आफ्नो अस्तित्वका लागि प्यालेस्टिनीलाई खतरा ठान्छन् इजरायली

Read Time : > 3 मिनेट
इयान बुरुमा
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार १o:५२:oo
  • घट्दो लोकप्रियताका बाबजुद अधिकांश इजरायली आफ्नो अस्तित्वका लागि प्यालेस्टिनी नागरिक खतरा भएको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकोे विचारमा सहमत देखिन्छन्

तेलअभिवको शान्त सडकछेउ क्यापुचिनो र क्रोइसेन्टको आनन्द लिँदै गर्दा त्यहाँबाट ६९ किमि टाढा रहेको गाजामा मानिसमाथि बमबारी भइरहेको छ भन्ने कल्पना गर्न गाह्रो हुन्छ ।  पश्चिम किनारका मानिसले पनि निरन्तर हिंसा भोगिरहेका छन् । बाहिरी जीवन सहज देखिँदा अरूको पीडा बिर्सन सजिलो हुने रहेछ । यसको मतलब इजरायलीहरू युद्धबारे बेखबर छन् भन्ने होइन । गाजाका ध्वस्त सहरहरूको तस्बिर र पछिल्ला घटनाक्रमबारे त्यहाँका टेलिभिजनमा दैनिक चर्काचर्का बहस चलिरहेको हुन्छ । युद्धप्रतिको आक्रोश र यसलाई लम्ब्याउने बेन्जामिन नेतन्याहुको कदमका अतिरिक्त न्यायपालिका र देशका लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने उनको प्रयासबारे स्पष्ट महसुस हुन्छ । विशेषगरी धर्मनिरपेक्ष र उदारवादीहरूको बाहुल्य मानिने तेलअभिवमा यो झन् बढी महसुस हुन्छ ।

युद्ध र नेतन्याहुले आफ्नो निरंकुश आवेगको विरोध गर्ने सरकारी अधिकारीको बर्खास्तीविरुद्ध दैनिक प्रदर्शन भइरहेका छन् । मानिसहरू प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्का अतिवादीहरूलाई फासीवादी र युद्ध अपराधी भनेर निन्दा गर्छन् । त्यस्तै, ट्रम्प र नेतन्याहुबिच कसले अर्कोमाथि बढी प्रभाव पार्छन् भन्ने बारेमा बहस चल्ने गर्छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ)का एक पूर्वलडाकु पाइलटले मसँगको कुराकानीमा अस्वीकार्य युद्धमा पुनः सेवा गर्न नजाने बताए । अर्का एक व्यक्तिले यदि उनको छोरालाई युद्धमा बोलाइयो भने इजरायल छोड्न सक्ने बताए । मसँग कुरा गरेका एक लेखक अरब र यहुदीहरूबिचको घृणाले इजरायली विभाजित हुन सक्ने चिन्ता व्यक्त गरे ।

धेरै युद्धविरोधी प्रदर्शनकारी र लोकतन्त्र समर्थक अभियन्ता बाहिरी विश्वबाट अलग्गिएको महसुस गर्छन् । सांस्कृतिक बहिष्कारका कारण इजरायली कला संस्था र विश्वविद्यालय अन्तर्राष्ट्रिय रूपमा एक्लिँदै गएका छन् । इजरायली उदारवादी तप्का देशभित्रको शत्रुतापूर्ण शक्ति (विशेष गरी इजरायली सरकार र यसका कट्टरपन्थी समर्थक) र प्यालेस्टिनीहरूमाथि भएको बर्बरताका लागि सबै इजरायलीहरूको निन्दा गर्ने बाह्य विश्वबिचमा पेलिएको महसुस गर्छन् । कुनै समुहको (यस सन्दर्भमा इजरायली) परेकै आधारमा दोषी महसुस गराउनु कहिल्यै उचित हुँदैन । सबै इजरायलीहरूको सांस्कृतिक बहिष्कारले इजरायलभित्र तानाशाही र अन्यायपूर्ण युद्धको विरोध गरिरहेका समूहलाई नै हानि पुर्‍याउँछन् र एक्ल्याउँछ ।

यसका बाबजुद इजरायलमा हुने युद्धविरोधी र लोकतन्त्र समर्थक प्रदर्शनहरूमा एउटा कुराको टड्कारो रूपमा छुटिरहेको छ, त्यहाँ प्यालेस्टिनीहरूको पीडाको कतै उल्लेख हुँदैन । यत्रतत्र ‘बन्धकहरूलाई घर फर्काएन’ सरकारसँग गरिएका मागका ब्यानर टाँसिएको देखिन्छ । बन्धक फिर्तीको समर्थनमा इजरायली राजनीतिज्ञहरू पहेँलो रिबन लगाएर हिँड्छन् । तेलअभिवमा रहेको एक उच्चकोटीको कला संग्रहालयबाहिर सिकारु कला प्रतिष्ठानले बन्धकप्रति इजरायलीहरूले महसुस गरेको पीडालाई गतिशील रूपमा व्यक्त गरेको पाइन्छ । (धेरै बन्धकहरू गाजाको साँघुरा सुरुङहरूमा पहिले नै मरेका छन् ।)

टेलिभिजन टक सोहरूका सहभागीहरू युद्धको निरन्तरता निन्दा गर्छन् । युद्ध लम्बिँदा बाँकी इजरायली बन्धक मारिन सक्ने उनीहरू चिन्ता व्यक्त गर्छन् । तर, कोही पनि गाजाको विध्वंश, प्यालेस्टिनी नागरिकको अन्धाधुन्द हत्या, तिनको अंगभंग, घरबारबिहीन तथा भोकै पारिएको अवस्थाको चर्चा गर्दैनन् । ‘हारेट्ज’ नामक एक उदारवादी पत्रिकाले मात्र गाजावासीमाथि भइरहेका अत्याचारबारेमा रिपोर्ट प्रस्तुत गर्दै आएको छ । तर, यस उत्कृष्ट पत्रिकाका पाठकहरू इजरायली जनसंख्याको लगभग ४ प्रतिशत मात्र छन् । बाँकीका लागि प्यालेस्टिनीहरूको पीडा उनीहरूको चासोको विषय हुँदैन  । अझ खराब धेरै इजरायलीहरू गाजावासीको पीडाको विषय उठाउनु नै अनुपयुक्त ठान्छन् । मानौँ यसबारे उल्लेख गर्नु यहुदीविरोधीहरूलाई प्रोत्साहन गर्नु हो ।

मैले सुनेको, जेरुसेलममा भएको एक युद्धविरोधी प्रदर्शनमा प्यालेस्टिनी पीडितहरूका बारेमा कुरा उठ्न थालेपछि प्रदर्शनकारीबाट माइक्रोफोन खोसिएको थियो । जेरुसेलममा पुगेपछि त्यहाँ मेरो एकजना अधबैँशे उमेरकी महिलासँग भेट भयो, जो चर्को नेतन्याहु र युद्धविरोधी थिइन् । अरबी बोल्ने ती महिलाले गरिबहरूका लागि एक प्रभावकारी परोपकारी संस्था सुरु गरेकी छन् । जब मैले उनको संस्थाले कुनै अरबहरूलाई पनि सहयोग गरेको छ कि भनेर सोधेँ उनले त्यस्तो सम्भव नभएको बताइन् । उनका अनुसार प्यालेस्टिनीहरूले मुखले मात्र शान्ति चाहेको बताउँछन् । तर, सबैले अक्टोबर ७, २०२३ मा १,२०० भन्दा बढी इजरायलीहरूको हत्या र अपहरणलाई समर्थन गरे । त्यस दिन भएको घटनाले उनलाई भने नाजीकालमा यहुदी समुदायविरुद्ध भएको ‘आमनरसंहार’(होलोकास्ट)को सम्झना गरायो । उल्टो उनले त्यस्ता कुराको समर्थन गर्ने मानिसहरूप्रति कसरी मैत्रीपूर्ण सम्बन्ध राख्न सकिन्छ भन्ने प्रश्न राखिन् ।

यो दृष्टिकोणलाई केवल कट्टरता वा जातिवाद भनेर पन्छाउन सकिँदैन । इजरायलका अधिकांश मानिसले यस्तै दृष्टिकोण राख्छन् । प्यालेस्टिनीमाथि भएको इजरायली दमन र तिनको पीडाप्रतिको आमउदासीनताको खुलेर आलोचना गर्नुपर्छ । तर, अक्टोबर ७ को आक्रमणले इजरायलीमाथि परेको आघातलाई पनि कम महत्व दिनु हुँदैन । त्यस दिनको क्रूर बर्बरताले इजरायलका यहुदीहरूको मनमा शताब्दियौँ लामो उत्पीडन, हत्या र अपमानको भोगाइ ताजा बनाइदियो ।

नेतन्याहु यहुदीहरूको शताब्दियौँ लामो पीडाको कथ्यलाई राजनीतिक लाभका लागि प्रयोग गर्ने पहिलो इजरायली प्रधानमन्त्री होइनन् । देशका संस्थापक तथा पहिलो प्रधानमन्त्री डेभिड बेन–गुरियनले नाजीकालीन कर्मचारी एडोल्फ इचम्यानमाथि जेरुसेलममा मुद्दा चल्दा सन् १९६१ मा यो सूत्र प्रयोग गरेका थिए । तर, नेतन्याहुले आफ्ना सबै पूर्ववर्तीहरूभन्दा बढी प्यालेस्टिनीहरू, अझ विशेष हमास यहुदीहरूलाई नामेट पार्न लागिपरेका छन् भन्ने प्रवद्र्धन गर्ने काम गरेका छन् । उनी इजरायली यहुदीहरूका लागि प्यालेस्टिनी अस्तित्वगत खतराका रूपमा प्रस्तुत गर्न सफल भएका सक्छन् ।

नेतन्याहुले कट्टरपन्थी सम्मिलित आफ्नो सरकार कायम राख्ने उपायका रूपमा युद्धको निरन्तरतालाई हेरेका छन् । सरकारबाट बाहिरिए भने उनीमाथि पहिलेदेखि लागेको धोखाधडी र भ्रष्टाचारको मुद्दा पुनः चल्नेछ र उनी दोषी ठहरिन सक्छन् । अक्टोबर ७ को आक्रमणले अन्तिम दाबीलाई कमजोर देखाइएको छ, जुन नेतन्याहुको लोकप्रियतामा गिरावटको एउटा कारण हो । अधिकांश इजरायलीहरूले अस्तित्व मै खतरा रहेको उनको दृष्टिकोण साझा गर्छन् । अस्तित्वका लागि भएको संघर्षमा, शत्रुप्रति करुणाका लागि कुनै ठाउँ छैन । त्यसैले गर्दा, असल नियत भएका मानिसहरू पनि एक उनुदारवादी, स्वार्थी नेताको कडा विरोध त गर्लान्, तर तिनै नेताले जगाएको डरबाट भने मुक्त नहुन सक्छन् । 

प्रोजेक्ट सिन्डिकेटबाट