
गत १५ चैतमा राजावादी समूहले काठमाडौंमा गरेको प्रदर्शनीका कारण भएको क्षतिबाट निर्जीवन बिमा कम्पनीहरूमा चार करोड ८७ लाख ६८ हजार रुपैयाँबराबरको बिमा दाबी परेको छ । नेपाल बिमा प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार ११ निर्जीवन बिमा कम्पनीमा सोबराबरको रकम दाबी गरी ४३ वटा निवेदन परेका छन् । त्यसमा शिखर इन्स्योरेन्सले तीनवटा दाबीमा ४५ हजार रुपैयाँ अग्रिम भुक्तानी पनि दिइसकेको छ ।
अन्य बिमा कम्पनीहरूले भने अग्रिम दाबी भुक्तानी दिइनसकेको तथ्यांकमा उल्लेख छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस्तो दाबी पर्ने क्रम कायमै रहेको बताए । दाबीको संख्या र रकम अझै बढ्न सक्ने उनको भनाइ छ । ‘दाबी पर्ने क्रम जारी छ । त्यसलाई छिट्टै फस्र्योट गर्न प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि बढाउनेछौँ,’ उनले भने ।
राजावादी समूहले राजतन्त्र फर्काउनुपर्ने मागसहित गत १५ चैतमा काठमाडौंको तीनकुने र त्यसआसपासका क्षेत्रमा गरेको प्रदर्शनीका क्रममा दुईजनाको मृत्यु भएको थियो । अन्य व्यक्ति पनि घाइते भएका छन् । यसबाहेक भौतिक रूपमा ठुलो क्षति भएको थियो । सरकारले त्यसको यकिन विवरण सार्वजनिक गर्न बाँकी छ । यद्यपि, राजावादी समूहका प्रदर्शनीकारीले निजी घर र गाडीमा आगजानी गर्नेदेखि कोटेश्वरको भाटभाटेनी सुपर मार्केट तोडफोड र चोरी भएको थियो ।
यसैगरी, जडीबुटीस्थित नेपाल जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि आगलागी गरेका थिए । त्यसमा बिमा भएकाले बिमा कम्पनीमा दाबी पेस गर्न थालेका छन् । साथै, त्यसरी आउने दाबीमा कम्पनीले अग्रिम दाबी भुक्तानी पनि दिन सुरु गरेका छन् । अन्तिम दाबी भुक्तानी भने सर्भेयरमार्फत बिमा दाबीयोग्य क्षति मूल्यांकन गराएर मात्रै हुनेछ । त्यसका लागि केही समय लाग्न सक्ने कम्पनीहरूको भनाइ छ । बिमितलाई सहजता प्रदान गर्न निश्चित रकम अग्रिम रूपमा भुक्तानी गरिने कम्पनीको भनाइ छ । बिमाले हुलदंगाबाट हुने क्षतिले पनि रक्षावरण गर्छ ।
तथ्यांकअनुसार हालसम्म इन्जिनियर तथा ठेकेदार बिमाअन्तर्गत ३७ लाख रुपैयाँबराबरका तीनवटा दाबी परेका छन् । यसैगरी, मोटर बिमाअन्तर्गत एक करोड २९ लाख रुपैयाँबराबरका २२ वटा, सम्पत्ति बिमा (घरलगायत) अन्तर्गत तीन करोड ११ लाख ६६ हजार रुपैयाँबराबरका १६ वटा र विविधअन्तर्गत १० लाख रुपैयाँबराबरको दुईवटा दाबी परेको छ ।
तथ्यांकअनुसार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १४ लाख ६० हजार रुपैयाँको चार, दी ओरिएन्टलमा ४७ लाख ५० हजार रुपैयाँको एक, नेकोमा ५२ लाख रुपैयाँको चार, नेपाल इन्स्योरेन्समा आठ लाख ७१ हजार रुपैयाँको एक, नेसनलमा २० लाख ७५ हजार रुपैयाँको ११, प्रभुमा ५० हजार रुपैयाँको एक, शिखरमा १३ लाख २५ हजार रुपैयाँको पाँच, सगरमाथा लुम्बिनीमा ६८ लाख ९१ हजार रुपैयाँको पाँच, सिद्धार्थ प्रिमियरमा एक करोड १७ लाख ५० हजार रुपैयाँको आठ, हिमालयन एभरेस्टमा १६ लाख ९५ हजार रुपैयाँको एक र राष्ट्रिय बिमा कम्पनीमा एक करोड २७ लाख रुपैयाँका दुईवटा दाबी परेको देखिन्छ । बिमा कम्पनीमा थप दाबी पर्ने अनुमान पनि गरिएको छ । १७ चैतमा प्राधिकरणले यसरी आउने दाबीलाई सहज रूपमा यथाशक्य छिटो फस्र्योट गर्न सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिइसकेको छ ।