मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
वीणा झा
Invalid date format o८:२८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

छात्र र छात्राबिच दूरी बढाउने शिक्षा

Read Time : > 4 मिनेट
वीणा झा
नयाँ पत्रिका
Invalid date format o८:२८:oo

विद्यालयमा लिंगकै आधारमा क्लब स्थापित गरेर समान हैसियतका छात्र र छात्रालाई हामी कस्तो शिक्षा दिन खोज्दै छौँ ?

विद्यालय यस्तो स्थान हो, जहाँ समाजका लागि नयाँ पुस्ता निर्माण गरिन्छ । त्यसैले विद्यालयमा के सिकाइँदै छ, कसरी सिकाइँदै छ भन्नेबारे राज्य जानकार हुनुपर्छ । अर्थात्, बालबालिका विद्यालयमा के, कसरी र कति सिक्दै छन् भन्नेबारे राज्यको निगरानीसहितको अभिभावकत्व ज्यादै महत्वपूर्ण रहन्छ ।

आजको २१औँ शताब्दीको विद्यालय तहको शिक्षामा विभिन्न अतिरिक्त क्रियाकलाप गराउन विद्यालयभित्र विविध क्लब गठन गरी सञ्चालन गरिन्छ । ती क्लबमार्फत रुचि र क्षमताअनुसार विद्यार्थीलाई सहभागिताका लागि उत्प्रेरित गरिनु शिक्षण क्रियाकलापअन्तर्गतका स्वाभाविक प्रक्रिया हुन् । यी क्लबका माध्यमले बालबालिकामा नेतृत्व विकासका साथै तिनका सम्पूर्ण व्यक्तित्व विकासमा यसले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । समाजका विभिन्न विषयवस्तुप्रति जागरुक बनाउँदै समाजप्रतिको दायित्वबोध गराउनसमेत यसले मद्दत गर्छ । तर, विद्यालयमा कस्ता क्लब सञ्चालन गर्ने ? तिनका उद्देश्य ठाउँ, परिवेश अनि समयअनुसार परिमार्जन गर्ने कि पहिलेदेखि जे चल्दै छ, त्यसैलाई यथावत् राख्ने ? केका आधारमा विषयवस्तु निर्धारण गर्ने ? ती क्लब बनाउँदा विद्यालय अवस्थित रहेको समाजको संरचना, त्यहाँ पढ्ने बालबालिकाका पृष्ठभूमि, विद्यालयमा उपलब्ध स्रोत–साधनजस्ता विविध पक्षलाई केन्द्रमा राख्ने कि नराख्नेजस्ता विषय पनि महत्वपूर्ण हुन्छन् । 

केही दशकअघि प्रायः विद्यालयमा छात्राको संख्या ज्यादै न्यून हुने गर्थ्यो । छोरीहरूलाई विद्यालय पठाउन सम्भव भएसम्म कन्या विद्यालय नै रोजिन्थ्यो । केही पुस्ता अगाडिसम्म त औपचारिक शिक्षामा छोरीहरूलाई खासै प्रोत्साहित पनि गरिन्नथ्यो । ‘अर्काको घर जाने’ स्थापित भाष्यले छोरीहरूको भविष्यको रेखा कोर्ने गरिन्थ्यो । प्रभावकारी भूमिका खेल्ने गर्थ्यो, तर अहिले विद्यालयमा छिर्दा फरक परिदृश्य देखिन्छ, अर्थात् त्यहाँ उल्लेखनीय संख्यामा छात्राहरू भेटिन्छन् । यहाँसम्म कि महिला शिक्षकलगायत विद्यालयका प्रशासनिक कार्यका महत्वपूर्ण स्थानमा समेत महिला कर्मचारी भेटिन्छन् । 

जतिवेला पूरै विद्यालयभरि औँलामा गन्न मिल्ने संख्यामा छात्रा हुन्थे र शिक्षिका पनि खासै भेटिन्नथे, त्यतिवेला ती छात्रालाई सशक्तीकरण गर्न विद्यालयभित्र ‘गल्र्स क्लब’को आवश्यकता पथ्र्यो पनि होला, तर आजको समय, सन्दर्भ र परिस्थिति फरक छ । जसले गर्दा विद्यालयभित्र गल्र्स क्लबको औचित्य कति छ भन्नेबारे सोच्ने वेला भएन र ? आजको समयमा जहाँ घरदेखि विद्यालयसम्म बालबालिकाबिच कुनै पनि किसिमको लैंगिक विभेद गर्न पाइँदैन भन्ने सचेतना बढ्दो छ र लैंगिक आधारमै भेदभाव गरिन्न पनि । यस्तोमा विद्यालयभित्र छात्र र छात्रालाई फरक तरिकाले सामाजिकीकरण गर्दा यसले कस्तो सोच, दृष्टिकोण र मनोविज्ञान निर्माण गर्ला ? आजको विद्यालय शिक्षाको एक महत्वपूर्ण राष्ट्रिय उद्देश्य भनेको विद्यार्थीलाई लैंगिक संवेदनशील बनाउनुसमेत रहेको छ, ताकि उनीहरूले भोलिका दिनमा सँगै मिलेर लैंगिक विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्न सकून् । पितृसत्तात्मक समाजमा व्याप्त महिला हिंसा सिर्फ महिलाको मात्रै सरोकारको विषय होइन, यो त सम्पूर्ण परिवार, समाज र राष्ट्रकै जिम्मेवारीअन्तर्गत पर्छ भन्ने बुझाइ बढाउनु आजको आवश्यकता पनि हो, जसका लागि छात्र र छात्रा या पुरुष र महिलाबिच प्रभावकारी सहकार्य चाहिन्छ । त्यसैगरी, महिनावारीदेखि लिएर महिला प्रजनन स्वास्थ्यसम्बन्धी सम्पूर्ण जानकारी छात्रालाई मात्रै होइन, छात्रलाई पनि बुझाउन अनिवार्य छ । अनि मात्रै एक–अर्काका विशेष आवश्यकताको महसुस गर्दै सहअस्तित्वको स्वीकार्यता बढ्दै सामाजिक विकृति र विभेदविरुद्ध सँगै पाइला चाल्न सहज हुन्थ्यो कि ? विभेदप्रतिको बुझाइको धरातल नै फरक बनाइदिने हो भने दुवैका पाइला कसरी सँगसँगै बढ्लान् ?

लैंगिक विभेद अन्त्य गर्न लैंगिक संवेदनशीलता अपरिहार्य हुने हुँदा विद्यार्थीलाई लैंगिक संवेदनशील बनाउनुको विकल्प छैन, किनकि ती विद्यार्थी परिवार र समुदायसँग प्रत्यक्ष जोडिएका हुन्छन् र भविष्यमा समेत हरेक क्षेत्रमा सँगसँगै हिँड्नुपर्ने हुँदा तिनलाई लैंगिक रूपमा संवेदनशील बनाए, त्यसको सकारात्मक प्रभाव समाजमा दह्रो गरी पर्न सक्छ । तर, विद्यालयभित्र नै छात्राहरू मात्रै सहभागी गराई गल्र्स क्लब बनाउने हो भने छात्र र छात्राबिच अस्वस्थ प्रतिस्पर्धा हुने, एकभन्दा अर्को ‘सुपेरियर’ भएको महसुस गर्ने, असन्तुलित शक्ति सम्बन्धले विविध असमानतायुक्त अनुभूति सिर्जना हुने सम्भावना पनि उत्तिकै रहन्छ । 

विद्यालय भनेको समाजको आँखीझ्याल पनि हो, जहाँबाट समाजको संरचना, स्थापित विभेद, आर्थिक अवस्थाको साथै तिनका प्रभावका दृश्य पनि स्पष्ट देखिन्छन् । विद्यालयमा भावी पुस्ता निर्माण गरिने हुँदा तिनलाई समाजका यी विषयवस्तु बुझ्न सक्ने बनाउनु अति आवश्यक रहन्छ, जसले गर्दा ती बालबालिकाले समाजको स्पन्दन बुझ्न सकून्, त्यहाँ अभ्यास भइरहेका सही र गलत परम्परा छुट्याउन सकून् र समाजप्रति दायित्वबोध गर्दै एक आदर्श नागरिक बन्न सकून्, जसका लागि प्रायः विद्यालयमा पाठ्यपुस्तकका अतिरिक्त पनि विभिन्न कार्यक्रम समावेश गरिएका हुन्छन् । सामाजिक विषयवस्तुप्रतिको सही बुझाइ, ठम्याइ र तिनका कारण र निवारणका उपायको खोजी गर्न सक्ने सीपको विकास पनि एक हो । त्यसैले पनि समय–समयमा विभिन्न अन्तत्र्रिmया गराउने, समाजका विभिन्न स्थानको भ्रमण गराउने इत्यादि गरिन्छ । अब एकछिन सोचौँ, कुनै विद्यालमा ‘दलित क्लब’, ‘बाहुन क्लब’ ‘पहाडी क्लब’, ‘मधेशी क्लब’, ‘गल्र्स क्लब’, ‘ब्वाइज क्लब’ आदि स्थापित गरियो भने यसले सिकाइमा कस्तो प्रभाव पार्ला ? यसले विद्यार्थीलाई एक–आपसमा जोड्ला कि अलग्याउला ? 

विद्यालयभित्रै जन्मका आधारमा पाएका परिचयका आधारमा स्थापित विभेद सँगसँगै हुर्किंदै गयो भने समाजको अवस्था कस्तो होला ? यस्ता अभ्यासले बालबालिकाको दृष्टिकोण निर्माण, सोच्ने शैली अनि व्यवहारलाई कस्तो असर पार्ला ? समाजका समान विषयवस्तुप्रतिको तिनको बुझाइ समान बन्ला ? अनि बुझाइ समान भएन भने समस्या समाधानप्रतिको सहकार्य सहज बन्ला त ? 

पछिल्लो समय एक विद्यालयमा स्थापित ‘गल्र्स क्लब’को अवलोकन गर्दा यस्तै अनुभूति भएको थियो । ‘फेमिनिज्म’को गलत व्याख्यामा आधारित सो क्लब सञ्चालनमा सिर्फ छात्राहरूलाई सहभागी गराउँदै गर्दा कतिपय अवस्थामा त्यहाँ पढ्ने छात्र र छात्राबिच असन्तुलित शक्ति सम्बन्ध उत्पन्न हुँदा यसले तिनका भावी जीवन, सामाजिक सम्बन्ध तथा दृष्टिकोण निर्माणमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना बढ्छ । अहिलेको समयमा त विभिन्न ‘प्रोग्रेसिभ’ विद्यालयले महिनावारीसम्बन्धी सचेतनाका कार्यक्रममा समेत छात्र र छात्रा दुवैलाई सहभागी गराउने गर्छन्, किनकि समान अनुभूतिको सिर्जना नगरी समानताको कल्पना गर्न सकिन्न । र, आजका ती बालबालिकाले नै भोलि वयस्क भएपछि विविध सामाजिक संरचनामा जोडिँदै सहकार्य गर्नुपर्ने हुन्छ, त्यसैले एक–अर्का लिंगप्रतिको संवेदनशीलता बढाउनु उत्तिकै आवश्यक छ । यहाँसम्म कि साझा सहभागितामै समाजमा स्थापित लैंगिक विभेदप्रति जागरुक बनाउन त्यसैअनुरूपका कार्यक्रम निर्माण गरिनुपर्छ ।

विद्यालयले विद्यार्थीको सशक्तीकरणमा उल्लेखनीय भूमिका खेलेको हुन्छ । तर, सशक्तीकरण गर्ने नाममा कुनै लिंग, जात वा अन्य कुनै आधारले विभेदको अनुभूति गराउनुहुँदैन । विद्यालयलाई कुनै पनि कारण वा प्रभावमा प्रयोगशाला बनाइनुहुँदैन । विद्यालयमा सञ्चालित कुनै पनि कार्यक्रमको प्रभाव र परिणाम प्रकारान्तरले समाजले नै भोग्नुपर्ने हुन्छ । 

विद्यालयमा केही निश्चित प्रक्रिया पूरा गरी भर्ना भएका छात्र र छात्रा दुवै समान हैसियतले प्रवेश गर्छन् भने तिनका लिंगकै आधारमा क्लब स्थापित गरिँदा एकले विशेष र अर्काले कमजोर भएको अनुभूति त गर्दैन ? आखिर समाजमा विद्यमान विविध विभेद, असमानता र कुरीतिविरुद्ध मिलेर नै समाधान गर्नुपर्ने होला होइन र ? जस्तो कि महिला हिंसाको उदाहरण लिऊँ, यदि यस हिंसाबारे सिर्फ महिलालाई मात्रै संवेदनशील बनाइयो भने समाजबाट महिला हिंसाको अन्त्य कसरी होला र ? त्यसैगरी, दुई लिंगबिच तुलना गर्दै एक–अर्कोसँग प्रतिस्पर्धात्मक वातावरणमा हुर्केको पुस्ताले समानुभूतिको महसुस कसरी गर्ला ? अनि समाजभित्रको विविधताबिच समानुभूतिको अभावमा स्वस्थ समाज निर्माण गर्न सकिएला ?

त्यसैले विद्यालयभित्रका हरेक विषयवस्तु र गतिविधिको प्रभाव समाजमा पर्ने हुनाले यो हरेक सचेत नागरिकको साझा जिम्मेवारी पनि हो । जसमा विद्यालयका शिक्षक, प्रशासक, अभिभावक, विद्यार्थी र स्थानीय निकायसमेत सचेत भई दीर्घकालीन सोचका साथ सहकार्य गर्नुपर्ने हुन्छ । किनकि, विद्यालय भनेको कुनै संस्था वा व्यक्तिको किचेन गार्डेन होइन, जहाँ जसवेला जे रोप्न मन लाग्यो, त्यही रोपिहाल्न सकियोस् । यो त एक निश्चित विधि र प्रक्रियाअन्तर्गत नै चल्नुपर्ने हुन्छ, जसमा सिर्जनशीलतालाई आत्मसात् गर्दै समुदायसँग जोडिएर परिणाममुखी बनाउन सकिन्छ ।

(झा समाजशास्त्री हुन्)