
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको १०औँ संस्करण बिहीबारदेखि सुरु हुँदै छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेको यो प्रदर्शनी ८ देखि ११ फागुनसम्म भृकुटीमण्डप, काठमाडौंमा चल्नेछ ।
प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी प्रख्यात ब्रान्डका डेढ सयभन्दा बढी स्टल रहनेछन् । निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने प्रदर्शनी र स्टल रहने आयोजकको भनाइ छ ।
उक्त प्रदर्शनीमा निर्माण सामग्री तथा उपकरण, केमिकल्स, युपिभिसी झ्यालढोका, आर्किटेक्चरल हार्डवेयर, बाथरुम फिटिङ पाइप, टायल्स, कंक्रिट ब्लकलगायत उत्पादक कम्पनीले सहभागिता जनाउनेछन् । प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।
आयोजकका अनुसार निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर, इन्टेरियर डिजाइनरहरूको समेत उल्लेख्य सहभागिता रहनेछ । निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्थाको पनि उपस्थिति रहनेछ । चार दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।