
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ ।
सोमबार एक समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन् । त्यस्तै, क्यानले १५ मंसिरदेखि ६ पुससम्म प्रतियोगिता हुने मिति तय गरेको छ । फ्रेन्चाइज टिम किन्न भने क्यानले टेन्डर आह्वान गरेको छ ।
यसअघि नेपाल टी–२० लिग आयोजना भए पनि निकै विवाद भएको थियो । आयोजनाको जिम्मेवारी पाएको भारतीय कम्पनी भागेपछि अहिलेसम्म विजेता टिमले पुरस्कार पाएको छैन । त्यसपछि आएको क्यानको नेतृत्वले नयाँ प्रतियोगिता घोषणा गरेको हो ।
यसअघि नेपाल प्रिमियर लिग आमिर अख्तरले गर्दै आएका थिए । तर, क्यानले यो नाम क्यानसँग मात्रै आधिकारिक हुने भन्दै प्रतियोगिता रोकेको हो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सबैको साथ र सहयोगमा लिगलाई सफल बनाउने बताएका छन् । क्यानका सचिव पारस खड्काले प्रतियोगितासँगै घरेलु क्रिकेटमा नयाँ युगको सुरुवात हुने बताए । ‘यसले घरेलु क्रिकेटमा नयाँ युगको सुरुवात भएको छ । साथै क्रिकेटको व्यावसायिकतामा नयाँ आयाम थप्ने छ,’ सचिव खड्काले भने।