Skip This
बाढी, पहिरो र डुबानमा पुरिएर देशभर १४ जनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २३ आइतबार १२:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढी, पहिरो र डुबानमा पुरिएर देशभर १४ जनाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १२:१३:oo

 शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढीपहिराेलगायतका विपतजन्य घटनामा परेर अन्य तीनजना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार बाढी, पहिरो तथा विपतजन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एकजना गरी १४ जनाको मृत्यु भएको छ ।

काठमाडौंस्थित नागार्जुन नगरपालिका– ३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका– ६ का मनोज विकको मृत्यु भएको थियो । पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका– ५ का राज राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ११ बस्ने जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ ।

त्यसैगरी, पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका– ७ बस्ने हीरा नेपाली, अनिशा बाँस्तोला, श्याम भण्डारी, स्याङ्जा बिरुवा गाउँपालिका– ६ स्याङ्दी बस्ने गुईश्वरी शर्मा मरासिनी, माधव शर्मा, हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्वतको फलेबास नगरपालिका– १ कार्कीनेटा बस्ने झलकप्रसाद शर्मा, तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका– ६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका– ८ बग्रपुर बस्ने मनियम चौधरीको समेत पहिरोमा परी मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

बाढी र पहिराेमा परी बेपत्ता हुनेमा दोलखा गौरीशंकर गाउँपालिका– ९  का जांम शेर्पा, दाङको राजपुर गाउँपालिका– २ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका– ५ ज्यामिरेकी खेमकुमारी मल्ल रहेका छन् । हालसम्म तनहुँमा पाँचजना, गुल्मीमा एकजना, ओखलढुंगामा दुईजना, काठमाडौंमा तीनजना, चितवनमा एकजना तथा स्याङ्जामा ६ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी, नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका नदी, खोलाकिनारमा आज पनि प्रहरीले गस्ती तथा अनुगमन जारी राखेको छ । अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्यनजरगरी खोलाकिनारमा प्रहरीले गस्ती गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए ।

देशैभर तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।