१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
बिरामीले किनेर ल्याएको खोप लगाइदिँदै सेती अस्पतालका स्वास्थ्यकर्मी ।
२o८१ जेठ ४ शुक्रबार o६:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:o४:oo

कैलालीको कैलारी गाउँपालिका– ५ हसुलियाकी मीना चौधरीले ६ वर्षीय छोरालाई कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउन स्थानीय स्वास्थ्य चौकी पुर्‍याइन् । तर, स्वास्थ्य चौकीले रेबिजविरुद्धको ‘एन्टिरेबिज’ खोप नभएको भन्दै फिर्ता पठायो । गाउँमा खोप नपाएपछि उनी छोरालाई लिएर धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल पुगिन् । त्यहाँ पनि खोप पाइनन् ।

‘सेतीमा पनि खोप सकिएको रहेछ, बाहिर मेडिकलबाट किनेर यहाँ लगाइमागेँ,’ सेती अस्पतालमा भेटिएकी मीनाले भनिन् । घरमा खेलिरहेका वेला छोरालाई कुकुरले टोकेको उनले बताइन् । खोपको दोस्रो र तेस्रो मात्रा लगाउन उनले थप दुई दिन धनगढी पुग्नुपर्नेछ । उनका अनुसार तीन मात्रा खोप र आतेजातेमा तीन–चार हजार खर्च हुन्छ । धनगढी उपमहानगरपालिका– १३ की भुक्का रानालाई कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउन गत शुक्रबार सेती प्रादेशिक अस्पताल पुगेकी थिइन् । तर, अस्पतालले खोप सकिएको बताएपछि उनले महँगोे शुल्क तिरेर निजी मेडिकलबाट खोप किनेर लगाइन् । 

सुदूरपश्चिम प्रदेशभरिका सरकारी स्वास्थ्य संस्थामा एक महिनायता रेबिजविरुद्धको खोप अभाव छ । सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क पाइने रेबिज खोप सकिएपछि बिरामी निजी मेडिकल र क्लिनिकमा महँगो शुल्क तिर्न बाध्य छन् । सेवाग्राहीका अनुसार मेडिकलमा खोपको एउटा मात्रालाई ६ सय रुपैयाँभन्दा बढी पर्छ ।

नि:शुल्क खोपको अभावपछि विपन्न बिरामीलाई उपचार गर्न समस्या भएको छ । कतिपय दुर्गम क्षेत्रमा मेडिकलमा किनेरसमेत नपाइने भएकाले खोपबाट वञ्चित हुनुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

‘सबैले मेडिकलमा किनेर लगाउन सक्दैनन्, मेडिकल नभएका दुर्गम क्षेत्रमा रेबिजको खोपबाटै वञ्चित हुनुपर्ने अवस्था पनि छ,’ स्वास्थ्य कार्यालय बझाङका प्रमुख लालबहादुर धामीले भने, ‘स्वास्थ्य संस्थाहरूमा रेबिजको खोप सकिएको एक महिना भइसक्यो, आइपुगेको छैन ।’ 

कुकुर, स्याल, बिरालो, बाँदरलगायत जनावरले टोकेपछि सेती अस्पतालमा मात्र एक महिनायता औसतमा दैनिक ६० देखि ७० बिरामी रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् । अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले कुकुरले टोकेर खोप लगाउन आउनेको संख्या धेरै रहेको बताए । अस्पतालमा खोप सकिएकाले बिरामीले बाहिरबाट खरिद गरेर ल्याएपछि खोप लगाइने काम अस्पतालले गरिरहेको उनले बताए । 

रेबिज खोपको एउटा भाइल दुईदेखि पाँचजनासम्मलाई लगाउन मिल्ने भएकाले सेतीमा आउनेलाई स्वास्थ्यकर्मीले मिलेर खोप किन्न सल्लाह दिने गरेका छन् । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रसँग पटक–पटक खोप माग गरे पनि नपाएको सूचना अधिकारी श्रेष्ठले बताए । 

आपूर्ति व्यवस्थापन केन्द्रमै छैन खोप
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा रेबिजविरुद्धको खोपको मौज्दात सकिएको एक महिना भएको छ । केन्द्रमै नभएपछि नौवटै जिल्लाका स्वास्थ्य संस्थामा खोप पठाउन नसकिएको केन्द्रका सूचना अधिकारी जितेन्द्र बोगटीले बताए । सातवटै जिल्लाबाट खोपको माग आएको छ । संघ सरकारले उपलब्ध गराउने रेबिजविरुद्धको खोप आपूर्ति केन्द्रले जिल्लामा पठाउने गरेको बताए ।

बोगटीका अनुसार संघमै अभाव रहेको रेबिजको खोप यहाँ आइपुग्न अझै समय लाग्ने जानकारी केन्द्रले गराएको छ । ‘सुदूरपश्चिममा रेबिजको खोप अभाव भएकोबारे केन्द्रलाई पटक–पटक जानकारी गराएका छौँ,’ उनले भने, ‘अब एक हप्ताजतिमा खोप आइपुग्ने जानकारी पाएका छौँ ।’ आपूर्ति केन्द्रका अनुसार प्रदेशभरि मासिक दुई हजार भाइल रेविजविरुद्धको खोप खपत हुने गरेको छ । रेबिजका कारण नेपालमा बर्सेनि एक सयजनाको ज्यान जाने गरेको छ । 

 

ad
ad